काठमाडौँ । जर्मन सरकारले नेपाललाई ७ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ (५१ मिलियन यूरो) अनुदान दिने भएको छ । नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास र प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने लगायतका आर्थिक सामाजिक क्षेत्रको विकासमा जर्मन सरकारले अनुदान दिने भएको हो ।
नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता भएको छ । आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ ।
जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनिकरण लगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत दुवै पक्षले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।