काठमाडाैँ । नेपाली बजारमा सार्वजनिक भएको एक सातामै जीडब्लूएम (GWM) को नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेको छ । प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जित्दै ओरा ५ ले आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टता प्रमाणित गरेको हो ।
कम्पनीका अनुसार यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र नभई अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित अवधारणा तथा स्मार्ट विद्युतीय गतिशीलताप्रतिको जीडब्लूएमको दृष्टिकोणलाई पनि अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको छ ।
‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ अवधारणामा विकास गरिएको ओरा ५ मा जैविक प्रेरणाबाट तयार गरिएको बाह्य डिजाइन, आकर्षक वक्राकार बनावट, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ ।
सुरक्षाका दृष्टिले ओरा ५ मा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, सात वटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँचतारे एएनक्याप (ANCAP) र युरो एनक्याप (Euro NCAP) सुरक्षा मूल्यांकन प्राप्त प्रणाली समावेश गरिएको छ ।
यसका अतिरिक्त एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको रेन्ज, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी एडास (ADAS) सुरक्षा सुविधा, ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस भ्यू क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियर जस्ता विशेषताले यसलाई आधुनिक र सुरक्षित विद्युतीय एसयूभीका रूपमा उभ्याएको कम्पनीको दाबी छ ।
नेपालमा ओरा ५ को प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार सार्वजनिक भएको छोटो अवधिमै ओरा ५ ले आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलिरहेको छ । ग्राहक, अटोमोबाइल पारखी तथा उद्योगसँग सम्बन्धित व्यक्तिबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यसलाई नेपाली विद्युतीय सवारी बजारको बहुप्रतीक्षित मोडेलका रूपमा स्थापित गरिरहेको कम्पनीको भनाइ छ ।
नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि ले निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र हाभल एच–७ समेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। यी नयाँ मोडेल सार्वजनिक भएपछि जीडब्लूएमको विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियो अझ सशक्त हुने अपेक्षा गरिएको छ ।
विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको तथा १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थिति विस्तार गरिसकेको जीडब्लूएमले नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ ।








