काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुमनुब्री गाउँपालिकामा निर्माण अघि बढेको ८१ मेगावाटको बुढीगण्डकी प्रोक खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमति लाइसेन्स पाएको छ । कम्पनीले विद्युत् विकास विभागबाट आयोजना निर्माण अनुमति पाएको हो ।
लाईसेन्सको अवधि ३५ वर्षको रहेको छ । रन अफ रिभर प्रकृतिको यो आयोजना चुमनुब्री गाउँपालिका–४, टोम खोला र बुढी गण्डकी नदीको दोभान भन्दा २६० मिटर तल गाप नजिक ९ मिटर अग्लो र ३५ मिटर लम्बाइको वेयर निर्माण गरी ४४.०३ घनमिटर प्रति सेकेण्ड पानीको बहावलाई ग्रेभल ट्रेप हुदै बालुवा थिग्राउने पोखरीमा पुर्याईनेछ । त्यहाँबाट सफा पानीलाई ४३६५.९३ मिटर लामो सुरुङ्ग मार्फत सर्ज शाफ्ट हुँदै चुमनुब्री गाउँपालिका–४, सिरान खोला र बुढीगण्डकी नदीको दोभान भन्दा १५० मिटर माथि बिही नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । द्युतगृहमा फ्रान्सिस टर्वाइन जडान गरिनेछ ।
प्रस्तावित आयोजना समुन्द्री सतहबाट १९२३.३७ मिटरदेखि २१७६.८७ मिटरसम्मको उचाईको बिचमा अवस्थित छ । यो आयोजना निर्माण गर्दा ९७५ वटा रुखहरु काट्नुपर्ने हुन्छ । सोको क्षतिपूर्ति वापत २४ हजार ३७५ विरुवा वृक्षारोपण गर्नुका साथै प्रतिहेक्टर १ हजार ६०० का दरले वृक्षारोपण गर्दा १५.५० हेक्टर जग्गाको लागि २४ हजार ८०० विरुवा वृक्षारोपण सहित कुल ४९ हजार १७५ विरुण रोपण गरिने कम्पनीले जानकारी दिएको छ ।
आयोजनाको प्रतिवेदन अनुसार आयोजनाबाट २०८५ भदौ २८ गतेभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभी क्षमताको १५ किलोमिटर लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको फिलिम/गुम्दामा प्रस्तावित सवस्टेसनमा जोडिने छ ।
आयोजनाबाट सुक्खा मौसममा १३९.३११ वार्षिक गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ भने वर्षा मौसममा ३२०.२३५ गिगावाट घण्टा वार्षिक ऊर्जा उत्पादन हुनेछ । यो आयोजना निर्माणका लागि १४ अर्ब ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कम्पनीकाे रसुवामा २२.१ मेगावाटकाे चिलिमे जलविद्युत केन्द्रबाट नियमित विद्युत् उत्पादन भइरहेकाे छ । चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीनवटा आयोजनाहरू सम्पन्न भएका छन् ।








