काठमाडाैँ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेमा विद्युतीकरणपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ । अँध्यारोमा रात बिताउन बाध्य स्थानीय अहिले उज्यालोसँगै आधुनिक उपकरण र विद्युतीय मिलको प्रयोग गर्दै दैनिकीलाई सजिलो बनाइरहेका छन् ।
भौगोलिक रूपमा विकट मानिने वैकुण्ठेमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा ठूलो परिवर्तन आएको छ । वडासदस्य जानुका सुयलका अनुसार अब कुटानी–पिसानीका लागि दिनभर लागेर टाढा जानुपर्ने बाध्यता हटेको छ । गाउँमै विद्युतीय मिल जडान भएपछि महिलाको श्रम कम भएको छ ।
वडाध्यक्ष एकराज आचार्यले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको बताए । उनका अनुसार वडाभर विद्युत् पुगेपछि स्थानीयलाई विद्युत्को उपयोगबाट जीवन सहज बनाउन प्रोत्साहित गरिँदैछ । “अब हामी रैथाने बालीलाई प्रशोधन गरेर बजारमा पु¥याउने काम गर्दैछौँ,” उनले बताए ।
आचार्यका अनुसार वडाले ‘बैकुण्ठेको उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नारासहित रैथाने बाली—कोदो, गहुँ, जौ, फापर—लाई प्रशोधन गरेर सहरमा पठाउने तयारी गरेको छ । यसले उत्पादनसँगै उद्यमशीलता र आम्दानीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
वडासदस्य जयन्द्रकुमार राईका अनुसार विद्युतीकरणपछि सूचनाको पहुँच सहज भएको छ भने मिल वितरणले विशेषगरी महिलाको घरायसी काममा सहजता थपेको छ ।
स्थानीय सरकारको सहजीकरण र विद्युतीकरण विस्तारसँगै वैकुण्ठे गाउँ अहिले उज्यालोसँगै उद्यमशीलताको बाटोमा अघि बढिरहेको छ । रासस