काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन प्रयोगकर्ता बढ्दो छ । पछिल्लो समय विद्युत् उत्पादन बढेसँगै सरकार विद्युतीय सवारी साधनको विकास तथा प्रवर्द्धनतर्फ केन्द्रित छ । जसले गर्दा नेपालमा बीवाईडी, हुन्डाइ, सिजी, टाटा लगायतको विद्युतीय सवारीको प्रयोग बढीरहेको छ ।
विद्युतीय सवारीको विकास र प्रवर्द्धनका लागि विभिन्न सहुलियत, सेवा सुविधाको व्यवस्था हुन थालेपछि सरकारी तथा निजी क्षेत्रबाट उपयुक्त सवारी चािर्जङ स्टेसनहरू पनि निर्माण गरिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसेको छ । यसैगरी, अन्य विद्युतीय सवारी व्यावसायीहरूले पनि करिब ४०० चार्जिङ स्टेसन सञ्चालन गरिरहेका छन् ।
तर, इभि र चार्जिङ स्टेसनको अनुपात नमिल्दा प्रयोगकर्ताहरू समस्यामा छन् । नेपालमा सानाठूला गरी १५ हजार बढी विद्युतीय सवारी सञ्चालनमा छन् । अहिले सञ्चालनमा रहेका दुई पाङ्ग्रे सवारी बाहेक अन्य गाडीलाई घरमै चार्ज गर्दा ३ देखि ४ घण्टा लाग्ने भएकाेले घरमा चार्ज गर्न सम्भव छैन । कार, माइक्रो, बस लगायतका सवारी चार्जका लागि चार्जिङ स्टेसन नै आवश्यक पर्छ । तर, पछिल्लो समय चार्जिङ स्टेसनमा समस्या आउने, बिग्रने तथा ‘लो भोल्टेज’ का कारण एउटा सवारी चार्ज गर्न घण्टौ लाइन बस्नुपर्ने बाध्यता भएको विद्युतीय सवारी चालकहरू बताउँछन् ।
विषेशगरी, प्राधिकरणकै चार्जिङ स्टेसनमा समस्या आउने गरेको चालकहरू बताउँछन् । केही समयपहिले पोखराको मालेपाटन, मुग्लिनको चार्जिङ स्टेसननमा समस्या आउँदा ईभी चालकले ठूलो समस्या खेप्नु परेको थियो ।
यसैगरी, खुर्कोट, नेपालगञ्ज, कोहलपुर, धनगढी, दाङ लगायतका ठाउँमा सवारी चार्ज गर्न घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । साधारणतया प्राधिकरणको चार्जिङ स्टेसनमा फुल चार्ज गर्न ३० देखि ४० मिनेट लाग्छ तर ‘लो भोल्टेज’ लगायतका कारणले एउटा गाडी चार्ज गर्नै डेढ घण्टा लाग्ने गरेको सवारी चालक बताउँछन् ।
‘गाडी चार्ज गर्न तीन घण्टा बढी लाइन बस्नुपर्छ । पेट्रोलिमय पदार्थको तुलनामा सस्तो, सहज, वातावरणमैत्री भनेर इभी चलाएको अहिले यता न यताको भएको छ,’ सवारी चालकले भने, ‘यस्तो अवस्थामा हामीले कसरी विद्युतीय सवारी चलाउन सक्छौ त ?’
‘यात्रुलाई निर्धारित समयमा गन्तव्यमा पुर्याउन सकिँदैन । विद्युतीय सवारी खरिद गर्न सचेत हुनुपर्ने अवस्था छ’ अर्काे चालकले भने ‘साढे ३ घण्टा कुरेपछि बल्लबल्ल मेरो पालो आयो, इभी गाडी किनेर पछुताएको छु । इभी किन्दा विचार गरेर मात्र किन्नुहोला’ उनले सुझाए ।
इभीमा यात्रा गर्दा समस्या बेहोरेको यात्रु सरोज महताराले बताए । ‘बिराटनगर–काठमाडौँ चल्ने इभीमा यात्रा गर्दा गन्तव्यमा पुग्न सकिन । पर्याप्त चार्जिङ स्टेसनको कमी र चार्जिङ स्टेसन भएको ठाउँमा पनि चार्ज ढिला हुने, बत्ति नहुने लगायतका कारणले ढिला भयो’ उनले भने ।
सुर्खेत बसपार्कमा सञ्चालनमा रहेका दुईमध्ये एउटा चार्जिङ स्टेसन ठूलो बससहित ३ वटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिन्छ । प्रत्येक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर र विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सर्फर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटको डिसी र २२ किलोवाटको एसि चार्जर समेत राखिएको छ ।