Thursday, June 25, 2026
spot_img

नदीको स्वर र चट्टानको कथाः जलविद्युत् आयोजनामा मेरो यात्रा

spot_img

Share

spot_img

जलविद्युत आयोजनामा पहिलो पाइला

मेरो पेशागत जीवनको पहिलो अध्याय एम्.भी. दुगड ग्रुप, हाइड्रो डिभिजनको लिखु २ (५५ मेगावाट) जलविद्युत आयोजनाबाट सुरु भएको हो । त्यो क्षण मेरो लागि केवल नोकरी सुरु गर्ने कुरा थिएन, बरु भूगर्भशास्त्रीको वास्तविक परीक्षा थियो । नक्सा, कम्पास, ह्यामर र डायरीले भरिएको भारी बोक्दै म दुर्गम पहाड चढ्थेँ । नक्सा बोकेर उकालो लाग्दा नदीको स्वर सुन्दै तथा सुरुङ बन्नसक्ने सम्भावित मार्गको कल्पना गर्दै अघि बढिन्थ्यो । मैले देखेको दृश्य केवल भूगोल थिएन, त्यो भविष्यको ऊर्जा थियो ।

सुरुवाती दिनमा कठिन भूभाग, असहज मौसम र लामो पैदल यात्राले थकाइ लगाउँथ्यो । जब चट्टानको संरचना बुझेर सुरक्षित सुरुङ मार्गको पहिचान हुन्थ्यो, तब थकाइ गर्वमा बदलिन्थ्यो । कहिलेकाँही साँघुरा बाटा, कहिले चिप्ला ढिस्का, कहिले घामले तातेको पाखा छिचोल्नुपर्दथ्यो । हरेक पाइला अघि बढ्दा, मेरो मनमा एउटै कुरा घुम्थ्यो, “यो जमिनले बाँध धान्न सक्ला ? वा यहाँबाट भविष्यको सुरुङ सुरक्षित बन्ला ?” नदी किनारमा उभिएर गर्जन सुन्दा म महसुस गर्थें—‘यो गर्जन केवल पानीको आवाज होइन, यो भविष्यको ऊर्जा हो ।’ त्यस गर्जनभित्र म देख्थेँ गाउँ–बस्तीमा पहिलोपटक बल्ने बिजुलीको उज्यालो, खेतबारीमा पानी पुर्याउने आधुनिक सिंचाइ, र नेपालको ऊर्जा आत्मनिर्भरता ।

दिनहरू सजिला थिएनन् । कठोर भूभागमा कहिलेकाहीँ ५/६ घण्टा पैदल हिँड्नु पर्थ्याे भारी,नक्सा र उपकरण बोकेर । मौसम असहज थियो । बिहान घाम, दिउँसो हुरी, बेलुकी असिना वा वर्षा सबै एकै दिनमा भोगिन्थ्यो । सामाजिक चुनौती पनि त्यत्तिकै थिए । स्थानीय गाउँलेहरूले कहिलेकाहीँ शंका गर्थे, “यी मानिसहरू यहाँ के खोज्दैछन् ? के गर्न आएका हुन् ?”
चट्टानको तह, संरचना र कमजोरीहरू बुझेर एउटा सुरक्षित सुरुङ मार्ग पत्ता लगाएको क्षण मेरो थकाइ शक्तिमा बदलिन्थ्यो । किनभने मेरो एउटा सानो अध्ययनले हजारौँ मानिसको जीवन उज्यालो बनाउन सक्थ्यो ।

लिखु २ बाट सुरु भएको मेरो यात्राले मलाई जलविद्युत क्षेत्रमा अझै दृढ बनायो । सुरुबाट नै दुर्गम पहाड चढ्ने मेरो अनुभव अद्वितीय थियो । त्यसपछि, लिखु ए (२९ मेगावाट), लिखु १ (७७ मेगावाट ), नुप्चे लिखु (५७.५ मेगावाट ) जस्ता अन्य परियोजनाहरूमा काम गरियो । यिनको सम्भाव्यता अधययन, विस्तृत डिजाइन गरियो । यी र यस्ता अन्य आयोजनामा संलग्न हुँदा विभिन्न भूगोल र चट्टानसँग परिचित भएँ । नयाँ चुनौती र नयाँ सिकाइ भेटिने हरेक आयोजना एउटा नयाँ कक्षा भएको मैले महसुस गरेँ । नयाँ भूगर्भीय संरचना, नयाँ जोखिम र नयाँ समाधानसँग सामना गरेँ । यी सबै अनुभवले मेरो व्यावसायिक दृष्टि अझैँ गहिरो र व्यापक बनायो । यी फरक–फरक चुनौतीहरूले मलाई भूगर्भविद् मात्र नभई समाधान खोज्ने अभियन्ता समेत बनायो ।

चट्टानसँग संवाद

पहिलोपटक हिमाली नदीको किनारमा उभिँदा, त्यो गर्जन केवल पानीको आवाज मात्र लागेन, त्यहाँ भविष्यको संकेत सुनिन्थ्यो । त्यो आवाजमा हजारौँ वर्षदेखि बगिरहेको इतिहास, बगरको ढुंगामा कोरिएका युगौँका कथा सुनिन्थे । त्यहाँको चट्टानभित्र पृथ्वीको आत्मकथा लुकेको झल्किन्थ्यो । मेरो नजर अगाडि फैलिएको दृश्य साधारण थिएन । माथि हिउँले ढाकिएका हिमाल, बीचमा हरियाली वन, तल तुफानझैँ गर्जिने नदी । तर म भूगर्भविद् भएकाले केवल दृश्य देखिरहेको थिइनँ, म त भविष्य पढिरहेको थिएँ । मलाई लाग्यो– यी चट्टानहरू मौन भए पनि, आफ्ना रहस्य सुनाउन आतुर छन् । भनिरहेका जस्तो लाग्यो,“हामीलाई बुझ, हामीलाई पढ, अनि मात्र यो भूमिमा सुरक्षित संरचना खडा गर्न सक्छौ !”

त्यही क्षण मैले महसुस गरेँ, भूगर्भ विज्ञान केवल चट्टानको आकार वा रंगको अध्ययन होइन, यो त राष्ट्रको भविष्य लेख्ने जिम्मेवारी हो । चट्टानसँगको पहिलो संवादले मलाई सिकायो कि, नदीको बगाइ केवल पानीको यात्रा मात्र होइन । हरेक तहमा बस्ने ढुंगा हजारौँ वर्षको संघर्ष हो, र हरेक भौगोलिक संरचना भविष्यका विकास–योजनाको मेरुदण्ड हो ।

आफु पृथ्वीको कथा–पाठक बनेको छु जस्तो लाग्यो । चट्टानले मलाई जीवनमा धैर्य सिकायो । जस्तैः कसरी ती लाखौँ वर्षसम्म स्थिर रहँदै आएका छन् ? नदीले मलाई निरन्तरता सिकायो । जस्तैः कहिल्यै नथाकी बगिरहन्छ । त्यो पहिलो संवाद मेरो पेशागत यात्राको आध्यात्मिक सुरुवात थियो । त्यसदिनदेखि मैले निश्चय गरेँ, “म केवल नोकरी गर्ने छैन, म त पृथ्वीको कथा सुनेर र सुरक्षित संरचना कोरेर भविष्यलाई उज्यालो बनाउनेछु ।”

नक्सासँगको जीवन

भूगर्भशास्त्र पढिसकेपछि जलविद्युत आयोजनाको साइटमा मेरो जीवनको पहिलो पाइला थियो । त्यो क्षण नै मेरो लागि कागजमा लेखिएको ज्ञानलाई वास्तविक जमिनसँग जाँच्ने कसीको आरम्भ थियो । हातमा नक्सा, काँधमा जी.पी.एस्. र आँखामा भविष्यको सपना बोकेर म नदी किनार चहार्थे । हरेक मोड, हरेक चट्टान, र हरेक खोँचमा एउटै प्रश्न मेरो मनमा गुन्जिन्थ्यो, “यो जमिन कति बलियो होला ? यहाँ बाँध टिक्ला कि, टुट्ला ?” पहाड चढ्दा पसिना धारै बग्थ्यो, धुलोले शरीर छोप्थ्यो । पसिनाका प्रत्येक थोपा मेरो लागि केवल शारीरिक थकान थिएनन्, भविष्यको उज्यालो यात्राका सारथी थिए । म थाक्थें, तर जब यो पसिनाले हजारौँ मानिसको घर उज्यालो पार्नेछ भन्ने सोच्थेँ, त्यस क्षण प्रेरणा झन् प्रबल हुन्थ्यो ।

भूगर्भशास्त्र केवल ढुंगा हेर्ने विद्या होइन, यो जिम्मेवारी पनि हो । नक्सामा खिचिएका रेखाहरू केवल कागजका दाग होइनन्, ती भविष्यका योजना हुन् । नदीको गर्जन केवल ध्वनि होइन, त्यो सम्भावनाको संगीत हो । मेरो पहिलो अनुभवले मलाई सिकायो– साइटमा नक्सा बोकेर हिँड्नु भनेको जमिनसँग संवाद गर्नु हो । कहिले जमिन बलियो भएर आश्वासन दिन्छ, कहिले कमजोर भएर चेतावनी । तर, दुबै अवस्थामा, भूगर्भविद्को काम एउटै हुन्छ—प्रकृतिलाई बुझ्नु, र मानिसको भविष्यलाई सुरक्षित राख्नु ।

यसरी मेरो पेशागत जीवनको पहिलो पाइला केवल नक्सासँगको यात्रा थिएन, आत्मविश्वास, जिम्मेवारी र सपनाको यात्रा थियो ।

नदीसँगको संवाद: लिखु खोला

रामेछाप र सोलुखुम्बुको सिमानाले छुट्टाएको तान्दिङ्ग उपत्यकामा रहेको लिखु खोलाको किनारामा उभिँदा, नदीको गर्जन केवल आवाज जस्तो लागेन । त्यो आवाज मेरो कानमा भविष्यको ऊर्जा बनेर गुन्जियो । छालहरू एक आपसमा ठोक्किँदै बगेको देख्ता, नदीहरू केवल पानीका धारहरू होइनन् यी नै हाम्रो भोलिको शक्ति र सम्भावना हुन् भन्ने सम्झेँ । त्यहाँ गरिएको मेरो पहिलो भू–अध्ययन अझै पनि स्मृतिमा ताजा छ । सतहमा सामान्य देखिने ढुंगाहरू ध्यानपूर्वक हेर्दा तिनीहरूले पृथ्वीको लुकेका कथा सुनाउँथे ।

– क्वाट्र्जाइट (Quartzite): कठोर, अडिग, जसले ऊर्जा आयोजना टिकाउने आधार बन्न सक्छ ।
– फिलाइट (Phyllite) : चिप्लो र कमजोर, जसले इन्जिनियरलाई सावधानीपूर्वक सोच्न बाध्य पार्छ ।
– स्किस्ट (Schist): सुन्दर तर सजिलै टुक्रिन सक्ने तहहरू, जसले चुपचाप चेतावनी दिन्छ ।
– ग्नाइस (Gneiss) : तहदार बनावट भएको बलियो चट्टान, जसले स्थायित्व दिन्छ । यसको हल्का–गाढा पट्टी देखिने संरचना सजिलै चिनिने हुन्छ, र ठूला संरचनाका लागि सुरक्षित आधार बन्न सक्छ ।

चट्टानहरू केवल ढुंगा मात्र होइनन् तिनले आयोजनाको भविष्य लेख्छन् । कहिलेकाहीँ बलियो जग बन्छन् त कहिलेकाहीँ जोखिमको कारक । भूगर्भविद् हुनुले मलाई नदी र ढुंगासँग संवाद गर्न सिकायो । नदीको गर्जनमा अरूले केवल ध्वनि सुन्लान्, म ऊर्जाको गीतको रूपमा सुन्छु । ढुंगाको मौनता, जसलाई अरूले देखेका हुँदैनन्, म चेतावनीको भाषामा पढ्छु । यही कारणले लिखु खोला मेरो लागि विद्यालय बन्यो । विकासको आधार केवल प्राविधिक नक्सा होइन, प्रकृतिसँगको संवाद हो भन्ने मैले त्यहीँ सिकेँ ।

फिल्डमा बिताएको जीवन

भूगर्भविद्को दिन सामान्य हुँदैन । बिहान सूर्योदयसँगै ढुंगाको नमूना बोकेर नदी किनारतर्फ लागिन्छ । कहिले तातो घाममा ढुंगा पल्टाउँदै, कहिले मुसलधारे वर्षामा नक्सा भिजाउँदै, अनि कहिले हिमालको चिसो हावासँग जुध्दै बित्छ । मेरा दिनहरू कहिले १२ घण्टा सुरुङभित्र बित्दथ्यो, कहिले नदी किनारमा घाममा उभिएर ढुंगा बजाउँदै र गुणस्तर परीक्षण गर्दै जान्थ्यो ।

‘प्रकृतिको चुनौतीसँग लड्दै अघि बढ्नु नै भूगर्भविद्को वास्तविक जीवन हो ।’

सुरुङभित्रको अनुभव झन् फरक हुन्छ । टर्चको झिलिमिली उज्यालोमा चट्टानको सतह पढ्दै सुरुङ अगाडि बढाउँदा हरेक पर्खालले आफ्नो कथा सुनाइरहेजस्तो लाग्थ्यो । कतिपटक त रातभरि पनि काम गर्नुपर्थ्याे । बाहिर संसार निदाइरहेको हुन्थ्यो । तर भित्र हामीले ढिस्को खस्ने जोखिमसँग सतर्क रहँदै चट्टानको स्वभाव बुझिरहेका हुन्थ्यौं ।
हिमालमा बिताएका क्षण अझै सम्झन लायक छन् । औंला जमाउने चिसो हावा चल्थ्यो, नाक रातो हुन्थ्यो । अनि, अचानक आएको हिमपातले हाम्रो यात्रा अवरुद्ध बनाउन खोज्थ्यो । तर त्यही कठिनाइले हामीलाई धैर्य र दृढ हुन सिकाउँथ्यो । कहिले त नदीमा आएको बाढीले हाम्रो बाटो नै बगाएर लग्दथ्यो । फेरि, अर्को बाटो खोज्दै अघि बढ्नु नै हाम्रो पेसागत विशेषता थियो ।

सुरुङभित्र बिताएको समय: धैर्य र सजगताको पाठ

यस यात्रामा स्थानीय गाउँलेहरूसँगको भेट पनि महत्वपूर्ण रह्यो । कहिलेकाहीँ उनीहरू सुरुङ खन्दा पानी नै हराउने त होइन, भन्ने आशंका गर्थे भने कहिलेकाहीँ उत्सुकताले सोध्थे, “यहाँ बत्ती कहिले बल्छ त ?”
“सर, यहाँ बाँध बनाएपछि हाम्रो गाउँ डुब्छ कि !”
म मुस्कुराउँदै जवाफ दिन्थ्येँ, “डुब्दैन, बरु तपाईंहरूको घरमा उज्यालो बल्छ !”

चट्टान, सुरुङ र भविष्यको ऊर्जाबारे बुझाउँदा उनीहरूको आँखामा चमक देखिन्थ्यो । त्यो विश्वास नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हुन्थ्यो । यी सबै क्षणमा म केवल भूगर्भविद् मात्र होइन—प्रकृतिको कथा सुन्ने श्रोता, गाउँलेको आशा बुझ्ने माध्यम र राष्ट्रको ऊर्जा भविष्य कोर्ने अभियन्ता पनि हुन्थेँ ।

चुनौती र संघर्ष

जलविद्युत आयोजना केवल प्रविधिको कुरा होइन, यो प्रकृति र चुनौतीसँगको द्वन्द्व हो । हिमालको कठोर मौसम, चट्टानको कमजोरी वा आकस्मिक ढिस्को खस्ने डर, समयमै परियोजना सम्पन्न गर्ने दबाब, यी सबैले कहिलेकाहीँ निराशा ल्याउँछन् । तर धैर्यतामा नै भूगर्भविद्को परीक्षा हुन्छ । ‘चुनौतीहरू बाधा होइनन्, ती त, सीपलाई अझ धारिलो बनाउने अवसर हुन् ।’

कठोर हिमाली मौसम

हिमाली क्षेत्रमा मौसम कहिल्यै स्थिर हुँदैन । बिहान नीलो आकाश देखिँदा आत्मविश्वास आउँछ । दिउँसो अचानक बादल मडारिन्छन्, हिउँ झर्छ, कहिलेकाहीँ त भारी वर्षा वा हिमपातका कारण कैयौँ दिनसम्म काम रोक्नुपर्ने अवस्था आउँछ । उपकरण बिग्रन्छन्, फिल्डमा पुग्न समस्या हुन्छ । जसले गर्दा योजनाको तालिका नै बिग्रन्छ ।

चट्टानको कमजोरी र ढिस्कोको डर

चट्टानको असमान स्वभाव भूगर्भविद्को लागि सबैभन्दा ठूलो चुनौती हो । कतिपय ठाउँमा बलियो ग्रेनाइट भेटिन्छ,जसलाई काट्न मेसिनले पनि संघर्ष गर्नुपर्छ । कतै कमजोर फिलाइट वा ढिस्को भएको क्षेत्रमा काम गर्दा ठूलो पहिरो पनि खस्न सक्छ र जीवन नै जोखिममा पर्छ । यस्तो स्थितिमा सुरुङ विस्तार रोक्ने कि ढलान स्थिर गर्ने वा कुनै वैकल्पिक मार्ग खोज्ने भन्ने भूगर्भविद्को निर्णयमा भर पर्छ । जुन टोलीको सुरक्षा र परियोजनाको भविष्य तय गर्ने आधार समेत बन्छ ।

समय र दबाब

‘समयमै आयोजना सम्पन्न गर्नु’ लगानीकर्ता र सरकारको मुख्य लक्ष्य हुन्छ । भूगर्भविद्को प्राथमिकता भने सुरक्षा र दीगो संरचना हो । यो सन्तुलन कायम गर्न सजिलो हुँदैन । कहिलेकाहीँ रातभरि रिपोर्ट लेख्नुपर्छ, बिहानै पुनः फिल्डमा निस्कनुपर्छ । टोली र व्यवस्थापन दुवैलाई बुझाउनुपर्ने कामले मानसिक तनाव बढाउँछ । यस्ता समस्याले कहिलेकाहीँ निराशा ल्याउँछन् । कहिले हिउँले ढाकेको बाटोमा उपकरण बोकेर हिँड्दा अचानक ढिस्को खस्दछ । सुरुङभित्र अन्धकारमा अड्किँदा मान्छे कमजोर महसुस गर्छ । यस्तो अवस्थामा भूगर्भविद्को धैर्य र निर्णय क्षमताको परीक्षण हुन्छ ।

यस्ता अनेक संघर्षहरूले अन्ततः भूगर्भविद्को व्यक्तित्वलाई अझ परिपक्व बनाउँछन् । कठिनाइहरूले संकटमा पनि शान्त रहन सिकाउँछन् । टोलीलाई सुरक्षित राखेर अगाडि बढाउने र असम्भव जस्तो लाग्ने परिस्थितिमा पनि सम्भावनाको बाटो खोज्ने साहस बढ्छ ।

गर्व र योगदान

कुनै गाउँमा पहिलोपटक बिजुली बलेको क्षण स्थानीय बासिन्दाले उज्यालो, सुविधा र आधुनिकताको अनुभूति गर्छन् । म त्यही उज्यालोको परियोजनामा संलग्न प्राविधिक जनशक्तिलाई परिश्रम, पसिना र मौन योगदान सम्झन्छु । उज्यालोभित्र आफ्नै पसिना देख्ने कारणले म आफूलाई पर्दापछाडिको तर, निर्णायक पात्र ठान्छु ।

सफलता सजिलो थिएन । यसअघि पनि दिनरात अध्ययन भए । असंख्य नक्सा कोरिए, सर्वेक्षण भयो । सुरुङको सुरक्षित मार्ग, चट्टानको गुणस्तर, ढिस्को खस्ने जोखिम र बाँधको स्थायित्वका बारेमा विश्लेषण गरियो । यिनै कुराले मात्र यो सम्भव भएको हो । बाँध टिक्छ कि टिक्दैन, सुरुङ सुरक्षित हुन्छ कि हुँदैन ? भन्ने प्रश्नहरू सामान्य लागे पनि यसको उत्तर हजारौं मानिसको भविष्यसँग गाँसिएको हुन्छ । त्यसैकारणले त्यस्ता निर्णय लिने भूमिकामा हुने मानिसलाई पर्दापछाडिको तर निर्णायक पात्र भन्न सकिन्छ । हामीहरू अगाडी देखिदैनाैं, हाम्रो नाम ठूला समाचारमा आउँदैन, तर परियोजनाको मेरुदण्ड भने हामीहरूकै अध्ययन र निर्णयमा हुन्छ ।

यसरी हेर्दा, ‘गर्व र योगदान’ भन्ने भाव केवल व्यक्तिगत सफलताभन्दा ठूलो कुरा हो । यो त देशको विकास, गाउँको उज्यालो, र भविष्यको सुरक्षित आधार निर्माणमा आफ्नो श्रम मिसिएको सन्तुष्टि हो । यही सन्तुष्टि नै प्राविधिक पेशामा लागेको व्यक्तिको सबैभन्दा ठूलो पुरस्कार हो ।

भविष्यप्रतिको दृष्टि

नेपालका नदीहरू केवल बगिरहेको पानी मात्र होइनन्, यी नै भविष्यका ऊर्जा नदी हुन् । हामीले विज्ञान, विवेक र वातावरणमैत्री दृष्टिकोण अपनायौँ भने नदीहरूले केवल बिजुली होइन, समृद्धि पनि दिनेछन् । हिमालको गर्भबाट निस्किएका धाराहरू हाम्रो जीवनशैली सुधार्न मात्र होइन, देशको समृद्धिको मेरुदण्ड बन्नसक्ने क्षमता बोकेर आएका हुन्छन् ।

ऊर्जा निकाल्ने कुरा केवल बाँध र टर्वाइनसम्म सीमित हुँदैन । नदी, चट्टान र जमिनसँग संवाद गर्नसक्ने सीप चाहिन्छ । यही ठाउँमा भूगर्भविद्को भूमिका सुरु हुन्छ । हामी सतहमा देखिने चमकभन्दा भित्र, भूमिगत संसारमा प्रवेश गर्छौं, जहाँ सुरुङको सुरक्षादेखि चट्टानको स्थायित्वसम्मका कठोर प्रश्नहरूको जवाफ खोजिन्छ ।

भविष्यलाई उज्यालो बनाउन दूरदृष्टिक अनिवार्य छ । हामीले अन्धाधुन्ध प्रयोग भन्दा योजनाबद्ध र दीगो दृष्टिकोण अपनायौँ भने यी नदीहरूले केवल बिजुली मात्र दिने होइन रोजगारी सृजना गर्छ । साथै उद्योग र आधुनिक जीवनशैलीको सम्भावना पनि ल्याउँछन् । तसर्थ नदीहरू हाम्रा भविष्य हुन् । यिनलाई समेत सुरक्षित राखेर देश उज्यालो बनाउन पर्दापछाडिबाट हाम्रो योगदान निर्णायक हुन्छ । दृश्यात्मक रूपमा नदेखिएला, मंचमा नहुँला, अथवा समाचारको शीर्षकमा नाम नआउला केही फरक पर्दैन । तर गाउँमा पहिलोपटक बिजुली बल्दा, किसानले मोटरपम्प चलाउँदा, बालबालिका उज्यालोमा पढ्दाको क्षण गर्वको क्षण हुन्छ ।

‘यो मेरो पेशागत जीवनको अनुभव हो, जसले नेपाललाई उज्यालो बनाउने यात्रामा सानो योगदान दिएको छु ।’
(लेखक भूगर्भविद् हुन् ।)

याे लेख ऊर्जा संचार वार्षिक जर्नल २०८२ बाट साभार गरिएकाे हाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img