काठमाडौँ । ‘फ्रि’ मा बत्ती बाल्ने भन्दा अनौठो लाग्न सक्छ तर सत्य यही हो कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ का सेराकुनाका टेकराज आचार्यको । उनले विगत ८ वर्षदेखि ‘फ्रि’ मा बिजुली बत्ती बाल्दै आएका छन् ।
उनले आफ्नो घरनजिकैको सानो खोल्साको पानी प्रयोग गरी बिजुली उत्पादन गरेर उपयोग समेत गर्दै आएका छन् । उनले एक इन्चको पाइपमार्फत आएको आधा पानी उपयोग गरी विद्युत् उत्पादन गरिरहेका छन् । उनलाई टेकराज आचार्य भन्दा पनि ‘बिजुली बा’ भनेर चिनिन्छ ।

आचार्य पेशाले स्वास्थ्य कर्मी हुन् । उनीसँग ऊर्जा क्षेत्रको बारेमा केही ज्ञान थिएन वा उनको पृष्ठभूमी पनि ऊर्जा क्षेत्रसँग सम्बन्धित छैन । उनले ३२ वर्ष नेपाल सरकारको अहेव ५औं तहमा सेवा गरी २०७१ सालमा अवकास पाएका थिए । सरकारी सेवाबाट अवकास पाएपछि अब के गर्ने त ? भन्ने कुरामा उनले घर नजिकै खोल्सा खोल्सी भएकोले कुषि फार्म सञ्चालन गर्ने बिचार गरे ।
फार्म सञ्चालन गर्दै गर्दा पानी कलकल बगेको देखेर यसको थप उपयोग गर्ने विचार गरे । तर, पेशाले स्वास्थ्य कर्मी र ८ कक्षा मात्रै पास गरेको मेरो दिमागमा खासै राम्रो योजना नै आएन’ उनले भने, ।
‘छरछिमेकमा वा पारिवारीक छलफल गरे तर केही विकल्प निस्केन । अन्तिममा ‘फेम्ली हाइड्रो’ को याद आयो । ‘मैले फेम्ली हाइड्रोको बारेमा पहिलै सुनेको थिए । तर के हो थाहा थिएन । यसको बारेमा जान्न बुझ्न खोजे कसैबाट केही आइडिया आएन’ उनले भने ।

उनले ‘फेम्ली हाइड्रो’ को बारेमा खोज अनुसन्धान गरे । खोजनीतिको क्रममा उनले इलामका रणबहादुर रोकालाई भेटे । ‘रोकाका हजुरबुबाले पहिलेनै टर्वाइन घुमाएर घट्टा चलाउने तथा बिजुली उत्पादन गर्ने रहेछन् । रोकाकै आइडियाबाट ‘पेन्टीसेट’ मेसिनबाट बिजुली उत्पादन गर्ने भनिएको थियो तर असफल भयो’ उनले भने ।
उनलाई जसरी पनि आफ्नो घर वरीपरीको पानीको सदुपयोग गर्नु थियो । फेरी उनले नयाँ योजना खोज्न थाले, थप व्यक्तिहरू भेट्न बुझ्न थाले । ‘मेरो मोटरसाइकल थियो, दैनिक पोखरा बजार जान्थे, वर्कसप, इलेक्ट्रिक पसल, हार्डवयर, मिस्त्री सबैलाई भेट्थे कुराकानी गर्थे । सोही अनुसार काम गर्थे । बुझ्दै जादाँ यसका लागि ‘डाइनामा’ चाहिने रहेछ’ उनले भने ।
बजारमा अधिकांश ठूलो क्षमताका मात्र ‘डाइनामा’ पाइने हुँदा यसको खोजीमा धेरै दुख पाएको उनी बताउँछन् । आफुले खोजेको जस्तै डाइनामा भेटन उनलाई ६/७ महिना लाग्यो । उनले करिब २२ हजार रुपैयाँ तिरेर ‘डाइनामा’ खरिद गरे । साथै, अन्य आवश्यक पर्ने तथा जोडजाड गर्ने मेसिनहरू पनि खरिद गरे र आफै जोडजाड गरे । मेसिन त घुम्यो र भोल्टेज फालेन । यसमा पनि फेरि उनी असफल भए ।

उनले हार मानेनन् । फेरि भोल्टेजको बारेमा खोजनीति गरे । १४५० आरपिएम (मेसिन घुमाइको झट्का) नपुगेसम्म मेसिनले काम नगर्ने जानकारी थाहा पाए । उनले धेरै मेसिनहरू विगारेपछि तेस्रो पटकमा सफलता हासिल पारे । २०७३ बैशाख ३१ गते उनले बिजुली नै उत्पादन गरे ।
करिब डेढवर्षको अवधिमा उनले कुन ठाउँमा कति पानी झार्दा टर्वाइन घुम्छ र मेसिनको आरपिएम पुग्छ भन्ने कुरामा मात्रै खेलेको बताउँछन् । यो अवधिमा उनले मेसिनबाट विद्युत् उत्पादन गर्नका लागि पानीको बहाव क्षमता, टवाईन र नोजलको सन्तुलन मिलेपछि मात्र बिजुली उत्पादन हुन सक्ने कुरा आफै अभ्यास गर्दै बुझेको बताउँछन् ।
उनलाई वाइरिङ समेत गर्न आउँदैन थियो । तर पनि उनले हार मानेनन् । सानैदेखि खोला नाला तथा घट्टा चलाउँदै हुर्केको उनले आफ्नो मेहनेत र इच्चाशक्तिले डेढवर्ष लगाएर बिजुली उत्पादन गरेको बताए ।
‘म कुनै वैज्ञानिक होइन, म स्वास्थ्य कर्मी हुँ । मलाई वाइरिङ समेत गर्न आउँदैन तर मेरो ठाउँको पानी कलकल बग्दा मन चलचल भएर यो कदम अघि बढाएको थिए र म सफल पनि भए’ उनले भने ।
‘रिटायर्ड लाइफमा किताव लेख्दा,लेख लेख्दा गुगलमा मात्र र केही समयका लागि मात्र हुन्छ । तर, यसरी बिजुली उत्पादन गर्दा पछिसम्म हुने र अरू पनि लाभान्वित हुने हुँदा मैले याे काम थालेकाे थिए । यसले निवृत्तिभरणलाई समेत उर्जा मिल्छ’ उनले भने ।

अहिले खोल्साका पानी उपयोग गरी उत्पादन गरेको बिजुलीबाट एक पटकमा ४०/४५ वटासम्म बत्ति बालिरहेका छन् । साथै, राइसकुकर, फ्रिज, टिभी, इन्टरनेट लगायत चल्ने गरेको छ । अहिले ‘फेम्ली हाइड्रो’ हेर्न, यसको बारेमा जानकारी लिन विभिन्न विद्यालयहरूले ‘पिक्निक’को रूपमा विद्यार्थीहरूलाई ल्याउने गरेको पनि उनले बताए ।
उनले यस्तो खालको प्रविधि अन्य ७ ठाउँमा समेत जडान गरिसकेका छन् । यो प्रविधि पशुपालन फार्म, कृषि फार्म सञ्चालन गर्नेहरूको लागि उपयुक्त र लाभदायी हुने उनको भनाई छ । ‘फार्महरू सञ्चालन गर्ने ठाउँमा यसैपनि पानी हुन्छ । पानीको उपयोग गरी फार्ममा बिजुली बाल्न सकिन्छ । सानो–सानो उपकरणहरू चलाउन सकिन्छ । जसले गर्दा फार्म सञ्चालकले राष्ट्रिय प्रसारण प्रणालीको बिजुली जोड्न पर्दैन । नेपाल विद्युत् प्राधिकरणलाई मासिक रूपमा तिर्ने रकमले आफ्नो व्यवसाय थप बढाउन सकिन्छ’ उनले भने ।
‘मैले पहिलो पटक गरेको भएर धेरै मेसिनहरू बिगारे र समय पनि बढी लाग्यो । म सँग राम्रो अनुभव भएकोले अब ती कामहरू केही समयमै सम्पन्न गर्न सक्छु । घर वरीपरीको पानीको सदुपयोग गर्न ‘फेम्ली हाइड्रो’लाई बचाइराख्नु पर्छ’ उनले भने ।
हालसम्म सरकारले यसप्रति चासो देखाएको छैन । ‘मलाई सरकारबाट केही सेवा सुविधा, सहयोग चाहिएको छैन, यसलाई पछिसम्म बचाइराख्न भने आवश्यक छ । यसतर्फ भने सरकारले ध्यान दिनुपर्छ’ उनले भने ।
उनले ४० देखि ४५ वटा बत्ती बाल्न सक्ने मेसिनको संरचना तयार गर्ने, गेटवाल, टर्वाइन, पाइप लगायतको प्राविधिक पक्ष मिलाउनका लागि एक लाख रुपैयाँ मात्र लिने गरेका छन् । सामान्य परिवार, तथा फार्म सञ्चालकले एक लाख रुपैयाँ खर्च गरेपछि वर्षौसम्म निशुल्क बिजुलीको सेवा लिन सक्नेछन् ।
‘फेम्ली हाइड्रो’ राष्ट्रिय प्रसारण लाइन नपुगेको दुर्गम क्षेत्रका लागि उपयुक्त विकल्प हो । जस्तोजुसै ठाउँमा पनि साना खोल्साखाल्सीबाट बिजुली बाल्न सकिने यो प्रविधिलाई प्रवर्द्धन गर्न सके अध्यारोमा बस्न बाध्य सर्वसाधारणहरूलाई उज्यालोको अनुभुति दिन सकिन्छ । सानो लगानीबाट पनि वर्षौसम्म सेवा सुविधा पाउन सकिने हुँदा यसतर्फ राज्यको ध्यान जानु जरुरी छ ।