काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा संस्थाभित्र विधान कार्यान्वयन र संस्थागत प्रक्रियालाई लिएर विवाद चर्किएको छ ।
इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साधारणसभाबाट पारित निर्णय कार्यान्वयन नगरी निर्वाचन प्रक्रियामा अघि बढ्न खोजिएको आरोप लगाएका छन् ।
दुलालले इप्पानको २३औँ वार्षिक साधारणसभाले संस्थालाई महासंघको स्वरूपमा रूपान्तरण गर्ने तथा सोसम्बन्धी विधान संशोधन कार्यान्वयनको जिम्मेवारी अध्यक्षलाई दिएको स्मरण गराएका छन् । तर उक्त निर्णय कार्यान्वयन नगरी कार्यसमितिले बहुमतका आधारमा साधारणसभाको निर्णयलाई निष्क्रिय बनाउने प्रयास गरेको उनको दाबी छ ।
उनका अनुसार २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदन र मस्यौदा विधान २३औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भइसकेको थियो । साधारणसभाले संस्थालाई छाता संगठनको रूपमा महासंघमा रूपान्तरण गर्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको थियो ।
दुलालले साधारणसभाबाट पारित निर्णय कार्यसमितिको बैठकले उल्ट्याउन नसक्ने जिकिर गर्दै त्यसो गर्नु कानुनी र नैतिक दुवै हिसाबले अनुचित हुने बताएका छन् । उनका अनुसार साधारणसभाको निर्णय कार्यान्वयन नगरी निर्वाचनमा जानु सदस्यहरूको अधिकारमाथिको हस्तक्षेपसमेत हो ।
अध्यक्ष कार्कीले हालै जारी गरेको प्रेस विज्ञप्तिमा २०३औँ कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा अध्यक्षसहित सबै पदमा खुला प्रतिस्पर्धाको व्यवस्था गर्ने गरी विधान संशोधन प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको उल्लेख गरेका थिए ।
यस विषयमा दुलालले भने महासंघमा रूपान्तरणसम्बन्धी साधारणसभाको निर्णयलाई सम्बोधन नगरी पुनः विधान संशोधनको प्रस्ताव ल्याउनु प्रक्रियाविपरीत भएको बताएका छन् । उनका अनुसार पहिले साधारणसभाबाट पारित निर्णय कार्यान्वयन हुनुपर्ने र त्यसपछि मात्र नयाँ संरचना तथा निर्वाचन प्रक्रियामा जानु उपयुक्त हुनेछ ।
दुलालले अध्यक्षको विज्ञप्तिमा विधान संशोधन समितिको प्रतिवेदन तथा मस्यौदा सचिवालयमा सुरक्षित रहेको स्वीकार गरिएको उल्लेख गर्दै, विधान अस्तित्वमै नभएको भन्ने तर्क आफैँ खण्डित भएको बताएका छन् । विधान सुरक्षित रहेको स्वीकार गरिसकेपछि त्यसको कार्यान्वयन नगर्नु नै मुख्य समस्या भएको उनको भनाइ छ ।
उनले इप्पान ऊर्जा उद्यमीहरूको साझा संस्था भएकाले साधारणसभाबाट पारित निर्णय कार्यान्वयन गर्नु सबै पदाधिकारी र सदस्यहरूको दायित्व भएको उल्लेख गरेका छन् । संस्थागत सुशासन, पारदर्शिता र सदस्यहरूको अधिकारको सम्मान गर्दै साधारणसभाका निर्णयहरू कार्यान्वयन गरिए मात्र संस्थाको विश्वसनीयता र गरिमा थप उचो हुने दुलालको भनाइ छ ।








