Tuesday, June 9, 2026
spot_img

म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु

spot_img

Share

spot_img

म्याग्दी जिल्लाकै सबैभन्दा ठूलो १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धित आयोजनाले सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा सुरुङ खन्ने काम प्रारम्भ गरेको हो ।

आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको आयोजनाअन्तर्गत ५.६ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ । सुरुङ निर्माण कार्य बाँधस्थल, गाडपार तथा घरापस्थित विद्युत्गृह क्षेत्रलगायत चार स्थानबाट एकसाथ अघि बढाइने तयारी गरिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसास्थित पहिरा थाप्लामा बाँध निर्माण तथा म्याग्दीको घरापमा विद्युत्गृह निर्माणको पूर्वतयारी भइरहेको छ । सिभिल निर्माणको जिम्मेवारी पाएको साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनी आयोजनास्थलमा परिचालित भइसकेको छ ।

‘रन अफ द रिभर’ प्रविधिमा आधारित आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइप जडान गरिनेछ। विद्युत्गृहदेखि पानी निष्कासन बिन्दुसम्मको उचाइ अन्तर ४८० मिटर रहने जनाइएको छ ।

निर्माण व्यवस्थापनलाई सहज बनाउन प्रवर्द्धक कम्पनी, ठेकेदार र नेपाली सेनाका कार्यालय तथा आवास भवन निर्माण अन्तिम चरणमा पुगेका छन्। विस्फोटक पदार्थ भण्डारणका लागि आवश्यक संरचना पनि तयार पारिँदै छ ।

आयोजनास्थलसम्म पहुँच विस्तार गर्न आठ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ ।

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकले लगानी गर्ने भएका छन् । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्याइएको आयोजनाले जनाएको छ ।

निर्माण शुभारम्भका अवसरमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, सुरक्षा निकाय तथा प्रवर्द्धक कम्पनीका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा सम्पन्न गरिएको थियो।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले कालीगण्डकी गर्ज आयोजना म्याग्दीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए । उनका अनुसार नारच्याङ क्षेत्रका नदीहरूमा हाल १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा छन् भने थप आयोजना निर्माण र तयारीको चरणमा रहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img