काठमाडौँ । पेट्रोलियम गाडिको इन्जिनलाई थोरै रूपान्तरण (माइनार मोडिफिकेसन) गरी हाइड्रोजन इन्धनको रुपमा प्रयोग गरेर चलाउन मिल्ने प्रविधिको सफल परिक्षण भएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल प्रालिले पुल्चोक इन्जिनियरीङ कलेजको प्राविधिक टीमसँगको सहकार्यमा सफल परिक्षण गरेको हो ।
करिब दुई वर्षदेखिको निरन्तर अध्ययन अनुसन्धान र प्रयास पश्चात इन्जिनलाई फेरबदल गरी हाइड्रोजन ऊर्जाको समेत प्रयोग गरेर गाडी चलाउन सफल भएको प्रालिका प्रमुख कार्यकारी अधिकृत डा.प्रमोद टण्डनले बताए ।
‘सडकमा चलिरहेको गाडीको इन्जिनलाई परिवर्तन गरेर हाइड्रोजनमा समेत चलाउन मिल्ने प्रविधिको सफल परिक्षण भएको छ,’ उनले ऊर्जा संचारसँग भने, ‘यो हाइड्रोजन क्षेत्रका लागि ठूलो सफलता हो, यो प्रविधिलाई हाइड्रोजन कम्बसन इन्जिन भनिन्छ ।’
डिजेल, पेट्रोलजस्ता खनिज तेलबाट उत्पादित ऊर्जाको कारण विश्वव्यापी रूपमा कार्बन उत्सर्जन वृद्धि भइरहेको बेला पेट्रोलियम गाडीको इन्जिनलाई मोडिफाए गरेर र तदनुरुप थोरै खर्चमा यसको सञ्चालन गर्न सकिने पनि उनले जानकारी दिए ।
हाइड्रोजन कम्बसन इन्जिनमा शतप्रतिशत हाइड्रोजनको प्रयोगको वातावरणीय फाइदा त छदै छ, यससँगै सवारी साधनमा ‘डुअल मोडल’मा हाइड्रोजनको प्रयोगले कार्बन उत्सर्जन, हरित गृह ग्यास उत्सर्जन लगायत वातावरणीय प्रदुषणमा कमी आउने पनि उनले जानकारी दिए ।
नेपालमै व्यापक सम्भाव्यता भएको हाइड्रोजनको प्रयोगमा बढावा दिएर नेपालको परनिर्भरता घटाउन सहयोग गर्दछ । नेपालको जलस्रोतको सम्भावनाले विश्वमै कम खर्चमा हाइड्रोजन उत्पादन गर्नसक्ने मुलुक नेपाल बन्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
‘अहिले नै नेपालबाट हाइड्रोजन निकासी गर्नेभन्दा पनि आन्तरिक रुपमा खपत गराउन सके धेरै नै सम्भावनाका द्वारहरु खुल्ने देखिन्छ’ उनले भने ‘अहिले नेपालमै भइरहेका सवारी साधनमा यसको सम्भावित प्रयोग एउटा ठूलो कोशेढुंगा बन्न सक्दछ ।’
यसअघि काठमाडौँ विश्वविद्यालय (केयू) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापना गरी सफल परीक्षण गरिसकेको छ । केयुले नेपालमै पहिलोपटक हाइड्रोजनबाट चल्ने कारमा ग्रिन हाइड्रोजन रिफ्युलिङ गर्ने कार्य सुरु गरेको हो ।