काठमाडौँ । भिजन इनर्जी एण्ड पावर कम्पनीले रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण गरिरहेको नुप्चे लिखु जलविद्युत् आयोजनाको ५७.५ मेगावाट विद्युत् प्रवाह हुने १३२ केभी प्रसारण लाइनको फाउन्डेशन (टावर रहने जग) काे काम ६३ पतिशत पूरा भएकाे छ । समग्रमा लाइन निर्माणकाे काम ६८ प्रतिशत पूरा भएकाे छ ।
लाइन निर्माणको काम पाँचपोखरी कन्स्ट्रसन प्रालिले गरिरहेको छ । आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको गर्जाङ सबस्टेसनसम्मको २४ किलाेमिटर लामाे लाइनकाे काम द्रुत गतिमा अघि बढेको पाँचपोखरी प्रालिका अध्यक्ष बलाराम श्रेष्ठले बताए ।
‘लाइन निर्माणका लागि आवश्यक सामान आयोजनास्थलमा आइसकेको छ । लाइनमा ९ वटा टावर जडानकाे काम पूरा भएकाे छ,’ उनले ऊर्जा संचारसँग भने, ‘अब २०/३० वटा टावर निर्माण पूरा भएपछि तार तान्ने काम पनि सुरु हुनेछ ।’

८१ वटा टावर रहने यो लाइन ३४०० मिटरसम्मकाे उचाँइमा निर्माण भइरहेको छ । यो नेपाल कै सबभन्दा उचाँइमा निर्माण भएको लाइन हो । यो लाइन करिब ८० प्रतिशत सरकारी जग्गामा निर्माण हुनेछ ।
लाइन निर्माण सम्झौताअनुसार २०८२ असारभित्रै सम्पन्न गर्नुपर्ने छ । लाइन निर्माणको काम २०८१ असोजदेखि सुरु भएको हो । यो कन्स्ट्रक्सन कम्पनीले दुगड हाइड्रो पावर कम्पनीको विद्युत् जोडिने लाइन पनि निर्माण गरेको थियो ।

कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको सिभिल संरचनाको काम ८५ प्रतिशत पूरा भइसकेको छ । इलेक्ट्रो मेकानिकल निर्माण तथा जडानको काम पनि करिब ७६ प्रतिशत पूरा भएको छ भने हाइड्रो मेकानिकलको काम ८२ प्रतिशत सम्पन्न भएकाे छ । समग्रमा आयोजनाकाे कुल प्रगति ८३ पतिशत रहेकाे छ ।
आयोजनाबाट २०८१ भदौभित्रै व्यवसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य भएपनि काेभिड १९ महामारी का कारणले एक वर्ष थपिएकाे छ । यसकाे काम २०७८ असोज १२ गतेदेखि सुरु गरिएको थियो ।
आयोजना पूरा भएपछि वार्षिक ३८१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । क्यू ४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने पक्षेपण गरिएको छ ।
आयोजना निर्माण सम्पन्न गर्न १० अर्ब ५७ करोड ८० रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालय बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक, नेपाल क्रेडिट एण्ड कमर्स, कामना सेवा विकास बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एनसीसी बैंक लगायत ९ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।
आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले ५० करोड रुपैयाँ स्वपूँजी लगानी रहेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपूँजी लगानी गरेको यो पहिलो आयोजना पनि हो ।








