काठमाडाैँ । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी सुरु भएको छ ।
नेपालमा विद्यमान आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रविधिमैत्री दृष्टिकोणबाट समाधान गर्न लक्षित गर्दै आप्सा नेपालले आयोजना गरेको यो सम्मेलन दुई दिनसम्म चल्नेछ ।
सम्मेलनको भव्य उद्घाटन सम्माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यस अवसरमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायीहरू र सुरक्षा तथा आगलागी न्यूनीकरणका विषयमा विज्ञहरू उपस्थित रहनेछन् ।
दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनामसहित १४ राष्ट्रका विज्ञहरूले आ( आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । सम्मेलनमा विभिन्न छलफल सत्र, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले सहभागीहरूलाई अन्तर्राष्ट्रिय प्रविधिगत नवीनता, सफल अभ्यास र समाधानहरूको जानकारी दिनेछ ।
नेपालमा प्रत्येक वर्ष आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको परिप्रेक्ष्यमा, यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनहरू आवश्यक र प्रभावकारी हुने आयोजकहरूले बताएका छन्। यस्ता कार्यक्रममार्फत समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै नीतिगत सुधार र प्रविधि उपयोगलाई सशक्त बनाउने लक्ष्य लिइएको छ ।
कार्यक्रम निर्देशक श्री सुरेश श्रेष्ठका अनुसार यो सम्मेलन नेपालको सुरक्षा नीतिमा सुधार ल्याउने दिशामा एक महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ । साथै, नीति निर्माता, विज्ञ, सुरक्षाकर्मी तथा व्यवसायीहरूलाई एउटै साझा मञ्चमा ल्याई सहकार्य, साझेदारी र समाधान को अवसर सिर्जना गर्नु पनि सम्मेलनको प्रमुख उद्देश्य हो । उक्त सम्मेलनले नेपालमा सुरक्षा प्रविधि विकास, आगलागी न्यूनीकरण रणनीति तथा विद्युतीय सुरक्षाको क्षेत्रमा दीर्घकालीन योगदान पु(याउने ठोस अपेक्षा गरिएको छ ।