काठमाडाैँ । सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त व्यवस्था समावेश गरिएको हो । गाउँपालिकाका अनुसार यस कार्यक्रमबाट न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।
सूचना अधिकारी रुद्र बेघाका अनुसार गाउँपालिकाभित्र रहेका दुई हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवारले अनुदानको सुविधा पाउनेछन् । तर ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ता भने यस योजनामा समावेश नहुने जनाइएको छ ।
गाउँपालिकाले कृषिक्षेत्रलाई समेत प्राथमिकतामा राख्दै ‘एक घर, एक करेसाबारी, प्राङ्गारिक तरकारी’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत कृषिमा आत्मनिर्भरता अभिवृद्धि गर्ने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन बढाउने लक्ष्य लिइएको छ ।
त्यस्तै ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ र ‘स्वस्थ भान्सा, स्वस्थ जीवन’ कार्यक्रमलाई प्रभावकारी बनाउन माटो परीक्षणसम्बन्धी प्रयोगशाला सेवा निरन्तर सञ्चालन गरिने, प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
यसैबीच, गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष कृष्णकुमारी कँडरिया ले प्रस्तुत गरेको बजेटमा विद्युत् महसुल अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन तथा नागरिकको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।








