गोरखा जिल्लामा अघि बढेको ३४०.४२३ मेगावाटको बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न मंगलबार (चैत २० गते) सार्वजनिक सुनुवाई हुने भएको छ ।
टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत नियमन आयोग समक्ष पेस गरेको निवेदन उपर छलफल गर्ने तयारी भइरहेको जनाइएकाे छ । सार्वजनिक सुनुवाई विद्युत् विकास विभागको सभाहलमा हुनेछ ।
यो आयोजना गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजना पिकिङ रन अफ रिभर प्रकारको हो । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।
यो आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।