म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा राहुघाट सबस्टेसनकाे ठेक्का सम्झौता भएको २६ महिना बितिसक्दा पनि निर्माण सुरु हुन सकेकाे छैन । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सबस्टेसनकाे काम अगािड बढ्न नसकेकाे हाे ।
करिब २०० मेगावाट विद्युत जाेडिने सबस्टेसन निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् प्रभावित हुने देखिएका छन् । विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
३० महिना ठेक्का अवधि भएको आयोजनाको २६ महिना सकिँदा राहुघाटमा सबस्टेसन निर्माण सुरु नहुँदा म्याग्दीको जलविद्युत् क्षेत्रमा नकारात्मक असर परेको जनाइएकाे छ । डाँडाखेतको सवस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि सन्तोषजनक नभएकाे जनाइएकाे छ ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले राहुघाटमा सबस्टेसन निर्माणको काम सुरु गर्न ताकेता गरिरहेको र पछिल्लो पटक सहायक ठेकेदार छनोट गरेर काम सुरु गर्ने जानकारी गराएको बताए । २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म १२ वटा निर्माण सकिएको र ३८ वटा निर्माणाधीन रहेका आयोजनाले जनाएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् ।
दुवै ठाउँमा यसअघिनै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।
राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।