Monday, March 9, 2026
spot_img

माथिल्लाे संखुवा खोलाकाे इलेक्ट्रो-मेकानिकलकाे काम एन्ड्रिज हाइड्रोले गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. २ र ३ मा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको माथिल्लो संखुवा खोला जलविद्युत् आयोजनाकाे इलेक्ट्रो मेकानिकलको ठेक्का अन्तर्राष्ट्रिय प्राविधिक समूह एन्ड्रिज हाइड्रोले पाएकाे छ । ह्याप्पी इनर्जी प्रा.लि.ले निर्माण अघि बढाएकाे परियाेजनाकाे इलेक्ट्राेमेकानिकलकाे काम गर्न एन्ड्रिज हाइड्रोसँग पुस १४ गते सम्झौता भएको हाे ।

सम्झाैतापत्रमा ह्याप्पी इनर्जीकाे तर्फबाट कार्यकारी अध्यक्ष इन्द्रबहादुर बिष्ट र एन्ड्रिज हाइड्रोकाे तर्फबाट कन्ट्री हेड मयंक टाेमरले हस्ताक्षर गरे । एन्ड्रिज हाइड्रो विश्वभरि जलविद्युत आयोजनाहरूको इलेक्ट्राेमेकानिकलकाे काम, उपकरण, टर्बाइन, जेनेरेटर र सम्बन्धित प्रणालीहरू आपूर्ति तथा जडान गर्दै आएको अग्रणी कम्पनी हो । जसले नेपालमा पनि विभिन्न आयोजनाहरूमा यस्ता कार्यहरु गरिरहेकाे छ ।

एन्ड्रिज हाइड्रोले लामाे समयदेखिकाे उच्च प्रविधि र अनुभव याे परियाेजनामा प्रयोग गर्ने अपेक्षा कम्पनीकाे छ । जसले नेपालको जलविद्युत क्षेत्रलाई थप गुणस्तरीय बनाउने विश्वास परियोजना पक्षले व्यक्त गरेको छ ।

यो सम्झौता सँगै, नेपालमा अन्तराष्ट्रिय इलेक्ट्राेमेकानिकल सेवा प्रदायक र स्थानीय परियोजनाहरूबीचको सहकार्यलाई अझ बलियो बनाउने दिशातिर एक महत्वपूर्ण कदम रहेको छ ।

उक्त आयोजनाको सुरुङ निर्माण शुभारम्भ पहिले नै सम्पन्न भइसकेको छ । आयोजनाको हेडवर्क्स, इन्टेक र अन्य पूर्वाधार निर्माणलाई अघि बढाइँदैछ । विद्युत् विकास विभागबाट २०७५ असार ३२ गते सर्भे लाइसेन्स लिएर अध्ययन पूरा गरी २०८० असोज ३० गते विद्युत् उत्पादन अुनमतिपत्र प्राप्त भएको यस जलविद्युत् आयोजनामा प्रयोग गरिने जलस्रोत परिमाणको डिजाइन डिस्चार्ज ९.१८ घनमिटर प्रतिसेकेण्ड र ग्रस हेड ५१६ मिटर रहनेछ । यो आयोजनाको काम २०८५ जेठभित्र सम्पन्न गर्ने तालिका छ । निर्धारित तालिकाभन्दा ४ महिना अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको मुख्य हेडवर्क्स संखुवाखोला र लुनसुनखोलाको संगमबाट करिब ७५० मिटर माथिल्लो तटमा अवस्थित छ । जहाँबाँध, ग्राभेल तथा बालुवा थिग्रयाउने पोखरी, सेटलिङ बेसिन, अन्डर स्लुइस, इन्टेक निर्माण हुनेछ ।

इन्टेकबाट पानीलाई ३ हजार ६५० मिटर लामो हेडरेस टनेल, २५५ मिटर सर्फेस पेनस्टक, २५८ मिटर भर्टिकल र ३५५ मिटर होराइजेन्टल साफ्ट मार्फत विद्युत्गृहमा पुर्याइनेछ । यही विद्युतगृहमा जडान हुने २ वटा पेल्टन टर्वाइन घुमाएर विद्युत् उत्पादन हुनेछ । यो आयोजनाबाट वार्षिक २४४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

यो आयोजना सम्पन्न गर्न ८२४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कृषि विकास बैंकको पहिलो पटक प्रमुख अगुवाईको रुपमा वित्तिय व्यवस्थापन भएको यस आयोजनामा ७५ प्रतिशत अर्थात् ६१८ करोड ऋण र २५ प्रतिशत अर्थात् २०६ करोड रुपैयाँ स्वपूँजी लगानी रहनेछ ।

कृषि विकास बैंक लिमिटेडको १५० करोड, सहअगुवा सिद्धार्थ बैंक लिमिटेडको १४५ करोड र सहभागीहरूः प्रभु बैंक लिमिटेडको १०० करोड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेको ७५ करोड, लुम्बिनी विकास बैंक लिमिटेडको ७५ करोड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ७३ करोड रुपैयाँ बैंक कर्जा लगानी रहनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img