काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा बुधबार (बैशाख १२ गते) देखि सुरु भएको चौंथो संस्करणको हिमालयन हाइड्र एक्स्पो २०२४ को औपचारिक उद्घाटन बिहीबार अर्थात आज भएको छ । बुधबारबाटै एक्स्पोको शुभारम्भ भइसकेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै औपचारिक उद्घाटन गरेका हुन् ।
राष्ट्रपति पौडेलको कार्य व्यस्थताका कारण दोस्रो दिनका लागि औपचारिक उद्घाटन सत्र राखिएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान)ले जानकारी दिएको छ ।
उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले एक्स्पो आयोजकलाई धन्यवाद ज्ञापन गर्दै सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । उनले कुनै बेला ऊर्जामा ठूलो समस्यामा रहेको मुलुक अहिले यो अवस्थामा पुग्नुमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘विद्युत् आयातबाट निर्यातको अवस्थामा पुगेका छौं। नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपाल सरकारको सहकार्य, समन्वन्य, साझेदारीकै कारण यो सफलता प्राप्त भएको हो’ उनले भने ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य प्राप्तीका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने जानकारी दिए । ‘ऊर्जा विकासमार्फत समृद्ध हासिल गर्ने सम्भव भएकोले राजनीतिक दलले पनि लगानीकर्तामाझ उत्साह भर्नु जरुरी छ’ उनले भने, ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो एक्स्पो आयोजना गरिएको छ । यसले सबै सरोकारवालाई एउटै थलोमा ल्याएर अघि बढ्न प्रेरित गर्नुका साथै हालेमालो गरेर अघि बढ्न ऊर्जा प्रदान गर्छ । लगानी सम्मेलन सफल बनाउन समेत यसले बल पुर्याउने छ ।’
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लगानी सम्मेलनको पूर्वसन्धामा गरिएको यो एक्स्पोले सम्मेलनलाई सार्थक बनाउने बताए । ‘सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न यो एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । ऊर्जा क्षेत्रमा लगानीको ‘ग्याप’ छ । यसलाई परीपूर्ति गर्न सम्मेलन गर्न लागिएको छ । एक्स्पोले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास छ ।’
नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले जानकारी दिए । यसका लागि नीतिगत सुधार लगायत थप प्रवर्द्धन गर्न विभिन्न योजना अघि बढाइएको छ ।
उद्घाटन समारोहमा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले अहिलेसम्म जलविद्युत् उत्पादनमा करिब १ं३ खर्ब रुपैयाँ लगानी भइसकेको यस क्षेत्रलाई थप विकास तथा प्रवर्द्धन गर्न एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
‘५० लाख जनता प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहभागी छन्’ उनले भने, ‘ऊर्जा आयोजनामा ५ लाख बढी दक्ष र अदक्षले रोजगारी पाएका छन् । सरकारले ठूलो मात्रामा रोयल्टी पाएको छ । यस्तो क्षेत्रलाई अझै प्रभावकारी बनाउन जरुरी छ’ उनले भने ।
सरकारको साथ बिना निजी क्षेत्र यसरी फस्टाउन नसक्ने बताउँदै उनले अझै वन तथा भूमि लगायत केही क्षेत्रमा सरकारले सहज वावारण बनाउन आवश्यक रहेको बताए ।
नेपालको जलविद्युत् आयोजनालाई क्यू २० मा डिजाइन गरियो भने नेपालको उत्पादन क्षमता २ लाख मेगावाट बढी हुने भएकोले विश्वकै ध्यान केन्द्रित भएको जानकारी दिए ।
बुधबारदेखि सुरु भएको एक्पोको पहिलो दिन सर्वसाधारणको राम्रो सहभागिता देखिएको जनाइएको छ । ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजार बढीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । एक्स्पोको पहिलो दिन ३ वटा प्राविधिक सत्रहरू सम्पन्न भएका छन् । एक्स्पोमा राखिएका स्टलहरूमा दर्शकको घुईंचो लागेको छ । एक्स्पोमा १२ देशका १ सय भन्दा बढी स्टलहरू राखिएको छ । बुधबारबाट सुरु भएको एक्स्पो शुक्रबार सकिनेछ ।