काठमाडाैँ । नेपाल उद्योग परिसंघ र विराज भक्त श्रेष्ठ बीच ऊर्जा क्षेत्रको विकासबारे छलफल भएको छ । सोमबार परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै ऊर्जा क्षेत्र सुधारका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेको हो ।
छलफलका क्रममा अध्यक्ष पाण्डेले देशमा विद्युत खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उद्योगका लागि आवश्यक ऊर्जा उत्पादन, ह्विलिङ चार्जसहित प्रसारणको व्यवस्था र निजी क्षेत्रलाई विद्युतको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारमा अनुमति दिनुपर्ने सुझाव दिए ।
साथै, सरकारबाट स्वीकृति लिई सर्वे सम्पन्न गरिसकेका तर विद्युत खरिद सम्झौता (पीपीए) हुन बाँकी रहेका परियोजनासँग तत्काल पीपीए गर्नुपर्ने, विद्युतको आन्तरिक खपत बढाउने नीति ल्याउनुपर्ने र जीवाश्म इन्धनमा आधारित उद्योगलाई विद्युतमा रूपान्तरण गर्न सहुलियत दिनुपर्ने उनको धारणा थियो। वैकल्पिक ऊर्जा स्रोतमा पनि विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।
यसैबीच मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्युत निर्यातसँगै आन्तरिक खपत वृद्धि गर्ने रणनीतिमा सरकार सक्रिय रहेको बताउँदै जलाशय तथा नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । साथै, ऊर्जा क्षेत्रबाट देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान कसरी बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझाव अपेक्षा गरिएको बताए ।
उक्त छलफलमा उपाध्यक्ष गोकुल भण्डारी, सदस्य विदुषी राणा, युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।








