काठमाडाैँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका हुन् । आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहवरमा भएको वार्तामा सहमति जुटे इन्धन सहज हुने भएकाे छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको सातबुँदे मागलगायत यस क्षेत्रमा देखापरेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गरिनेछ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति भएको समेत भएकाे छ ।
निगमले व्यवसायीहरूलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्यांकर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यवसायीले गर्नेगरी सहमति भएको छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सातबुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोलपम्पहरूमा डिजेल तथा पेट्रोल अभाव देखिएको थियो ।