Thursday, December 5, 2024
spot_img

पेट्रोलियम भण्डारणगृहकाे काम ७० प्रतिशत पूरा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको छ ।

पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको छ। निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।

 प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब ८ करोडमा ती ठेक्का लगाइएको हो ।

भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षात्को पानीले अप्ठयारो पारेको जनाइएकाे छ ।

तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् ।

प्याकेज नम्बर ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ । प्याकेज नम्बर ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त छ।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारणबाट लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आइएको छ ।

सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मटितेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्याङ्क निर्माण गरिनेछ । आगामी मंसिरभित्र भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img