काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आदान प्रदान गर्न ६ वटा प्रसारण लाइन निर्माणका विभिन्न चरणमा छन् । करिब १२ हजार ७०० मेगावाट क्षमताका ६ लाइनको काम सन् २०३० भित्र सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया अघि बढाइएको छ ।
४०० केभी क्षमताका ५ वटा र १३२ केभी क्षमताका एक वटा प्रसारण लाइन निर्माणका विभिन्न चरणमा रहेको नेपाल विद्युत प्राधिकरणका मध्यम भोल्टेज ग्रीड भोल्टेज विभागका निर्देशक केदारराज सिलवालले बताए ।
‘अरुण–३ जलविद्युत् आयोजनाको ९०० मेगावाट विद्युत् लैजान ४०० केभी क्षमताको ढल्केबर–सीतामढी लाइन निर्माण भइरहेको छ,’ उनले भने, ‘सतलज जलविद्युत् निगमले अरुण–३ जलविद्युत् आयोजनासँगै डेडिकेटेड लाइन पनि निर्माण गरिरहेको छ । २५०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ यो लाइनको काम २०२४/२५ भित्र सक्ने लक्ष्य छ ।’
४०० केभी कै न्यु बुटवल–गोरखपुर, इनरुवा–पुर्निया, लम्की–बरेली, कोहलपुर–लखनउ र १३२ केभी क्षमताको नेपालगञ्ज–नानपारा लाइन निर्माणका विभिन्न चरणमा छन् । ४०० केभी क्षमताका लाइनबाट २५०० मेगावाट बराबरको विद्युत् प्रवाह हुनेछ ।
न्यु बुटवल–गोरखपुर लाइन २०२५/२६ मा सक्ने गरी काम भइरहेको छ । निर्माण भइरहेको छ । इनरुवा–पुर्निया लाइन २०२६/२७, लम्की–बरेली २०२७/२८ कोहलपुर–लखनउ २०२९/३० मा सक्ने गरी काम भइरहेको छ । नेपालगञ्ज–नानपारा २०२५/२६ भित्र सक्ने लक्ष्यका साथ निर्माण भइरहेको छ । यो प्रसारण लाइनले २०० मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।
१५८० मेगावाट विद्युत् व्यापार गर्न सक्ने क्रस बोर्डर लाइन तयार
नेपाल भारत विद्युत व्यापारका लागि १५८० मेगावाटका क्रस बोर्डर प्रसारण लाइन तयार भएको छ । सिलवालले भारतले अनुमति दिए अहिले १५०० मेगावाट निर्यात गर्न सकिने संरचना तयार भइसकेको जानकारी दिए ।
अहिलेसम्म नेपाल र भारतबीच ८०० मेगावाट विद्युत् आदान प्रदान गर्न सकिने ४०० केभीको ढल्केबर–मुजफ्फरपुर लाइन सञ्चालनमा छ । २००० मेगावाट विद्युत् प्रवाह क्षमता भएको यो लाइनबाट ८०० मेगावाट मात्रै विद्युत् आदान प्रदान गर्नेगरी समझदारी भएको छ ।
१३२ केभीको कटैया–कुशाहाबाट १२० मेगावाट, कटैया–कुशाहा–दोस्रो लाइनबाट १६० मेगावाट, रक्सौल–परवानीपुरबाट १६० मेगावाट, रामनगर–गण्डकबाट ६५ मेगावाट, मैनियाँ–सम्पत्तियाबाट १६० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ७० मेगावाट ,३३ केभी तथा ११ केभी अन्य प्रसारण लाइनबाट ४ मेगावाट गरी कुल १५८० मेगावाट आयात/निर्यात गर्न सकिनेछ ।