Tuesday, June 9, 2026
spot_img

सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय तथा सुनकोसी स्टोरेज कम डाईभर्सन

spot_img

Share

spot_img

काठमाडाैँ । सप्तकोसी नदी सातवटा शाखा नदीहरू मिसिएर बनेको नेपालको एक प्रमुख नदी हो । यी शाखा नदीहरूमध्ये सुनकोसी, अरूण र तामाकोशी तीन नदीहरूको उद्गमस्थल छिमेकी राष्ट्र चीनको तिब्बत हो भने इन्द्रावती, लिखु, दूधकोसी र तमोरको उद्गमस्थल नेपाल हो । सप्तकोसी नदी छिमेकी राष्ट्र भारतको कुर्सेला भन्ने स्थानमा गंगा नदीमा गई समाहित हुन्छ ।

सन् १९४६ मा भारत सरकारबाट सप्तकोसी उच्च बाँध आयोजनाको अध्ययनका लागि स्थलगत सर्वेक्षण भएको थियो । यसैका आधारमा कोसी बेसिन गुरुयोजनामा प्राथमिकता प्राप्त वहुउद्देश्यीय आयोजनाको रूपमा पहिचान गरिएको सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनालाई यसअघि भारत सरकारले सन् १९८१ मा यस आयोजनाको सम्भाव्यता अध्ययन गरेको देखिन्छ ।

हाल उक्त आयोजनाबाट जलविद्युत उत्पादन, सिँचाइ, बाढी नियन्त्रण र अन्तरदेशीय जलमार्गका क्षेत्रहरू समेटी विस्तृत रूपमा अध्ययन भइरहेको छ । उल्लेखित अध्ययनका क्षेत्रहरू समेटी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारत सरकार बिच समझदारी भएको थियो ।

फलस्वरूप, नेपाल–भारत संयुक्त आयोजना कार्यालयको रुपमा सप्तकोसी सुनकोसी अन्वेषणको स्थापना सन १७ अगस्ट २००४ मा भयो । यस कार्यालयको मुख्य जिम्मेवारी सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी स्टोरेज–कम–डाइभर्सन योजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आवश्यक सर्वेक्षण, अनुसन्धान र अन्य सम्बन्धित अध्ययनहरू पूरा गर्ने हो । यसको निर्माणबाट दुबै देशका आवश्यकतालाई जलविद्युत् उत्पादन, सिँचाइ विकास, बाढी नियन्त्रण÷व्यवस्थापन र जलमार्गका विकासबाट पूरा गर्ने उद्देश्य रहेको छ ।

नेपाल सरकारका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाईका) बाट भएको अध्ययनः

सन् १९८५ मा जाईकाको सहयोगमा नेपालले कोशी नदी वेसिनको जलस्रोत विकास सम्बन्धी गुरुयोजना तयार गर्दा यस योजनाको साथै सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनालाई पनि प्राथमिकता दिई विकास गर्न सिफारिस गरिएको थियो । उक्त गुरुयोजनाको प्रतिवेदन अनुसार डाइभर्सन आयोजनाबाट विद्युत् उत्पादनको साथै कमला नदीको दुवै किनारमा रहेका भूभागमा समेत सिँचाई सुविधा पुग्ने र कमला नदीको तल्लो तटमा बाढी नियन्त्रण हुने समेत उल्लेख गरिएको छ ।

वर्तमानको अध्ययन

सन् १९९१ मा आयोजनाको प्राविधिकः विवरणहरूलाई अन्तिम स्वरुप दिन आवश्यक भएकोले संयुक्त रुपमा स्थलगत सर्वेक्षण गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्न सहमती भयो । सोहस्अनुरुप आयोजनाको स्थलगत सर्वेक्षण कार्यको कार्यविधि तथा आयोजनाबाट प्राप्त हुने विभिन्न लाभहरूको मूल्यांकन गर्ने सिद्धान्तहरू तयार गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्न नेपाल–भारत संयुक्त विशेषज्ञ टोली गठन भएको थियो । उक्त टोलीको काठमाडौँमा बसेका प्रथम बैठक सन् १९९२ मा दुवै देशका विद्युत, सिँचाइ तथा बाढी नियन्त्रणका आवश्यकताहरू पूर्ति गर्ने हिसाबले आयोजनाको सम्पूर्ण पक्षहरूको अध्ययन÷सर्वेक्षण गर्ने सहमति भएको थियो ।

तत्पश्चात उक्त टोलीको विभिन्न समयमा बसेको बैंठकहरूमा सप्तकोसी उच्च बाँध बहुउद्देशीय आयोजनाबाट मात्रै कोसी नदी पश्चिमदेखि पर्सा जिल्लासम्म अवस्थित सम्पूर्ण सिँचाइयोग्य भूभागमा भरपर्दो सिँचाइ गर्न नसकिने अवस्था भयो । उक्त भूभागमा सिँचाइ सुविधा पुर्याउनका लागि सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको पनि साथसाथै अध्ययन गर्ने र यी दुवै आयोजनाहरूबाट प्राप्त हुने सिँचाइ, विद्युत तथा बाढी नियन्त्रणका लाभहरूको यथोचित मूल्यांकन गर्ने र सप्तकोसी आयोजनाको निर्माण पश्चात नियन्त्रित पानीबाट हुनसक्ने जलपरिवहनको समेत अध्ययन गर्ने सहमती भयो । नेपाली पक्षबाट तयार गरेको प्रारम्भिक प्रतिवेदन लाई संयुक्त विशेषज्ञ टोलीको अक्टोवर, २००१ मा बसेको चौथो बैठकले अन्तिम स्वरुप दिएको थियो ।

यही प्रतिवेदन अनुसार स्थलगत कार्यहरू सञ्चालन गर्न नेपाल तथा भारत सरकारबीच सन् २००४ जुन २१ मा सप्तकोसी सुनकोसी अन्वेषणको स्थापना भई कार्य अघि बढेको हो ।

हाल आयोजना सामाजिक, वातावरणीय, प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्इ भए÷नभएको यकिन गर्ने अध्ययन भइरहेको छ । सिँचाइ, विद्युत् उत्पादन, जलपरिवहन र बाढी नियन्त्रण कार्यहरूबाट देशलाई प्राप्त हुने लाभहरूको आंकलन गरिनेछ । साथै, आवश्यक लागत अनुमान गरिनेछ ।

सप्तकोसी उच्च बाँध बहुउद्देशीय आयोजनाः

संयुक्त जलस्रोत समिति जे.सि.आर.को ९औं बैंठकको निर्देशन बमोजिम आयोजनाबाट तयार गरिएको परिमार्जित प्राविधिक विवरण सम्बन्धी अध्ययनको प्रतिवेदनमाथि नेपाल–भारत संयुक्त विशेषज्ञ टोलीको २०८० असोज २२ देखि २४ गतेसम्मको १७औँ बैंठकमा आयोजनाको विवरणहरूमा परिमार्जित गरिएको छ ।

आयोजनाको बाँध क्षेत्र बराहक्षेत्रबाट १६०० मिटर उत्तरतर्फ सप्तकोसी नदीको सतहबाट २०३.५ अग्लो कंक्रिछ बाँध निर्माण हुनेछ । जलाशयको कूल सञ्चित क्षमता ७.७७२ अर्ब घनमिटर रहने छ । यसको विद्युत् उत्पादन क्षमता २२५० मेगावाट अनुमान गरिएको छ । यसबाट वार्षिक १०.०९३ अर्ब युनिट विद्युत् उत्पादन हुनेछ भने नेपालतर्फ ३.४१४ लाख हेक्टर र भारततर्फ ३.८३७ लाख हेक्टर जमिनमा सिँचाइ पुग्नेछ ।

सप्तकोसी आयोजनाको डुबान क्षेत्रः

प्रस्तावित बाँधस्थल धनकुटा जिल्लाको सागुँरीगढी गाउँपालिका १० र उदयपुर जिल्लाको वेलका नगरपालिका ७ को सिमाना भई बग्ने सप्तकोसी नदीको सुनाखम्बी क्षेत्रमा पर्दछ । हालसम्मको प्रारम्भिक अध्ययनअनुसार समुन्द्र सतहबाट ३०४.८ मिटरसम्म पानीको अधिकतम सतह रहने गरी अग्लो बाँध निर्माण गर्दा १४८.८० वर्ग किलोमिटर क्षेत्र डुबान भई कोसी प्रदेशका निम्नानुसारका जिल्ला तथा स्थानीय तहहरूको आंशिक भूभाग डुबान हुन सक्ने देखिएको छ ।

भोजपुर जिल्लाको आमचोक गाउँपालिकाको वडा नम्बर ७,८,९,१०, अरुण गाउँपालिकाको १,४,५,६,७, हतुवागढी गाउँपालिकाको १,४,५,६,७,८,९ पौवादुङमा गाउँपालिकाको ५,६ षडानन्द नगरपालिकाको ६,७,११,१२ डुबान हुन सक्ने अनुमान गरिएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाको ५, छथरजोरपाटीको ३,४ धनकुटा नगरपालिकाको ८,९ सहिदभूमि गाउँपालिकाको १,२,३,४,५,६,७ महालक्ष्मी नगरपालिकाको ४,५,६ पाख्रिबास नगरपालिकाको ५,६,८,१० साँगुरीगढी गाउँपालिकाको १,२,३,७,८,९,१० डुबानमा पर्ने अनुमान छ ।

खोटाङको वराहपोखरी गाउँपालिकाको १,२,४,५, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ४, हलेसी तुवाचुङ नगरपालिकाको २,३,५,८,११, जन्तेढुंगा पालिकाको १,२ र खोटेहाङको ९ मा आंशिक डुबान पर्न सक्ने अनुमान गरिएको छ । संखुवासभाको चैनपुर नगरपालिकाको १०,११, धर्मदेवी नगरपालिकाको ७,८, खाँदबारी नगरपालिकाको २,८,९ र पाँचखपनको ४ नम्बर वडा डुडानमा पर्न सक्नेछ । उदयपुरको बेलका नगरपालिकाको ५,६,७ चौदण्डीगढीको १,८ रौतामाईको ३,५ ताप्लीको १,४,५ त्रियुगाको १४,१५ कटारीको १० लिम्चुङबुङको १,२,४,५ नम्बर वडामा आंशिक डुबान हुन सक्ने देखिएको छ ।

सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाः

नेपाल सरकारका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८५ मा तयार गरेको कोसी बेसिनको जलस्रोत विकास सम्बन्धी गुरुयोजनाको प्रतिवेदनमा आधारित मुख्य प्राविधिक विवरणहरू निम्नानुसार छन्ः

सुनकोसी डाईभर्सन आयोजना

यसको बाँधस्थल खोटाङ जिल्लाको हलेसी तुवाचुङ नरपालिकाको वडा नम्बर १ र उदयपुर जिल्लाको कटारी नगरपालिकाको वडा नम्बर १४ को सिमाना भइ बग्ने सुनकोसी नदिको कुरुलेघाट स्थानमा पर्दछ । यसको पानीको प्रयोग गरी ६१.४ मेगावाट विद्युत् उत्पादन गरिनेछ । यसको विद्युतगृहको स्थान उदयपुर जिल्लाको खाडिखोपमा रहनेछ ।

कमला बाँध

बाँधस्थल उदयपुर जिल्लाको कटारी नगरपालिका १ र धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ५ को सिमाना भइ बग्ने कमला नदिमा रहनेछ । यहाँबाट ३२ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसको खुद सञ्चित क्षेत्रफल नेपालतर्फ २१ लाख ७५ हजार १ सय हेक्टर रहेको छ ।

बहुउद्देश्यीय तथा स्टोरेज कम डाईभर्सन आयोजनाको हालसम्मको अवस्था

आयोजनाको टोपोग्राफि सर्भे, निर्माण सामग्री अध्ययन, सिँचाइ सम्बन्धी अध्ययन, जलपरिवहनमार्ग सम्बन्धी अध्ययन र भौगर्भिक अध्ययनको काम सम्पन्न भइसकेको विद्युत् विकास विभागले जानकारी दिएको छ ।

अहिले जल तथा मौसम सम्बन्धि अध्ययन र भूकम्पिय सम्बन्धी अध्ययनको काम भइरहेको छ । यस आयोजनामा अध्ययन कार्य सुरु भएदेखि नै स्थानीयस्तरबाट विरोध हुँदै आएको छ । विभिन्न संगठित समूह र सरोकारवाला समूहहरूको विभिन्न माग, दबाब, विरोध र तोडफोड जस्ता क्रियाकलापबाट असुरक्षाको वातावरणी श्रृजना भई स्थलगत अन्वेषण कार्य पटक पटक स्थगित गर्नुपरेको विभागले जनाएको छ ।

डिपिआर तयार गर्ने अवधि डेढवर्ष बाँकी

सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने काम डेढवर्षभित्र सम्पन्न हुने भएको छ । नेपाल र भारतबीचको सहमति अनुसार आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीकरण गरी १८ महिनाभित्र प्रतिवेदन तयार गरिनेछ ।

सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना तथा सुनकोसी स्टोरेज डाईभर्सन आयोजनाको अध्ययन सम्बन्धमा गठित नेपाल भारत संयुक्त विज्ञ टोलीको गत असोज २२ देखि २४ गतेको बैंठकले ३० महिनाभित्र प्रतिवेदन तयार गर्ने सहमति भएको थियो । सोही बमोजिम अब १८ महिनामात्र बाँकी छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img