काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले डेढ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले साउन २९ गतेदेखि १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर बिक्री गर्न लागेकाे हाे ।
साउन २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह ‘क’ उप समूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद सेयरमध्ये लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री नभएको सेयर बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुकले भदौ ६ गतेसम्म दर रेटसहित बोलपत्र पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीका अनुसार उक्त सेयर खरिद गर्ने सेयरधनीहरू समूह ‘क’ उप समूह ‘क–२’ को ‘अन्य संस्थापक’ उप समूहमा रहनेछन् । साथै उक्त सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् एचआईडीसीएलप सङ्केतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ ।
कम्पनीको उक्त सेयरमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैकका शंखमुल नयाँबानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, आर्दशनगर वीरगञ्ज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, मिलनचोक बुटवल, बाग्लुङ्ग बजार, त्रिभुवन चोक नेपालगञ्ज, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।