काठमाडाैँ । चिनियाँ बिजुली कार (इभी) उत्पादक कम्पनी बिवाइडी आफ्नो अमेरिकी प्रतिस्पर्धी टेस्लालाई पछि पार्दै विश्वकै सबभन्दा ठूलो इभी बिक्रेता बनेको छ । बिवाइडीले वार्षिक बिक्रीका आधारमा पहिलो पटक टेस्लालाई उछिनेर विश्वकै ठूलो इभी कम्पनी बनेको हो ।
बिहीबार बिवाइडीले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष कम्पनीका गाडीको बिक्री करिब २८ प्रतिशत बढेर २२ लाख ५० हजारभन्दा बढी पुगेको बिबिसीले जनाएको छ ।
उता, टेस्लाले सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत साता प्रकाशित विश्लेषकहरूको अनुमान अनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार गाडी बिक्री गरेको छ ।
अमेरिकी कम्पनी टेस्लाले सन् २०२५ मा चुनौतीपूर्ण समय भोग्नुपरेको थियो। कम्पनीका प्रमुख एलन मस्कका राजनीतिक गतिविधिप्रति असहजता र चिनियाँ प्रतिस्पर्धी कम्पनीहरूको बढ्दो दबाबले टेस्लाको बिक्री प्रभावित भएको विश्लेषण गरिएको छ ।
गत अक्टोबरमा टेस्लाले बिक्री बढाउने उद्देश्यले अमेरिकामा आफ्ना दुई सर्वाधिक बिक्री हुने मोडेलका सस्ता संस्करण सार्वजनिक गरेको थियो ।
एलन मस्कमाथि आगामी एक दशकमा टेस्लाको बिक्री र सेयर बजार मूल्य उल्लेखनीय रूपमा बढाउने जिम्मेवारी छ । नोभेम्बरमा सेयरधनीहरूले अनुमोदन गरेको पारिश्रमिक सम्झौता अनुसार मस्कले १० खर्ब अमेरिकी डलरसम्मको भुक्तानी पाउन सक्नेछन् ।
उक्त सम्झौता अन्तर्गत मस्कले आगामी १० वर्षमा १० लाख मानवीय स्वरूपका रोबोट (ह्युमनोइड रोबोट) बिक्री गर्नुपर्ने सर्त पनि समावेश छ। टेस्लाले ‘अप्टिमस’ नामक रोबोट र स्वचालित ‘रोबोट्याक्सी’ परियोजनामा ठूलो लगानी गरिरहेको छ ।








