काठमाडौँ । पेट्रोलियम गाडिको इन्जिनलाई थोरै रूपान्तरण (माइनार मोडिफिकेसन) गरी हाइड्रोजन इन्धनको रुपमा प्रयोग गरेर चलाउन मिल्ने डुअल मोडल हाइड्रोजन कारको सफल परिक्षण गरी यसको उद्घाटन समेत गरिएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल प्रालिले पुल्चोक इन्जिनियरीङ कलेजको प्राविधिक टीमसँगको सहकार्यमा तयार पारेको उक्त हाइब्रीड कारको उद्घाटन गरिएको हो ।
नेपालको पहिलो डुअल मोडल हाइड्रोजन कारको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलगायतबाट कार चढेर शुभारम्भ गरिएको हो ।
बेलायतको प्रबिधिमा आधारित इन्जिनको बिकास गर्दै पेट्रोलियम गाडिको इन्जिनलाई माइनार मोडिफिकेसन गरी हाइड्रोजन इन्धनको समेत प्रयोग गरेर चलाउन मिल्ने बनाएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.प्रमोद टण्डनले बताए ।
यो कार ४० प्रतिशत हाइड्रोजन र ६० प्रतिशत पेट्रोलबाट चल्ने विकल्पसहितको उपकरण जडान गरिएको छ । यसरी एउटा कारलाई हाइब्रिड प्रविधिमा रूपान्तरण गर्न ४ देखि ५ लाख रुपैयाँसम्म लाग्ने जनाइएको छ ।
करिब दुई वर्षदेखिको निरन्तर अध्ययन अनुसन्धान र प्रयास पश्चात इन्जिनलाई फेरबदल गरी हाइड्रोजन ऊर्जाको समेत प्रयोग गरेर गाडी चलाउन सफल भइएको छ । यो हाइड्रोजन क्षेत्रका लागि ठूलो सफलता हो, यो प्रविधिलाई हाइड्रोजन कम्बसन इन्जिन भनिन्छ ।
डिजेल, पेट्रोलजस्ता खनिज तेलबाट उत्पादित ऊर्जाको कारण विश्वव्यापी रूपमा कार्बन उत्सर्जन वृद्धि भइरहेको बेला पेट्रोलियम गाडीको इन्जिनलाई मोडिफाई गरेर र तदनुरुप थोरै खर्चमा यसको सञ्चालन गर्न सकिने पनि उनले जानकारी दिए ।
हाइड्रोजन कम्बसन इन्जिनमा शतप्रतिशत हाइड्रोजनको प्रयोगको वातावरणीय फाइदा त छदै छ, यससँगै सवारी साधनमा ‘डुअल मोडल’मा हाइड्रोजनको प्रयोगले कार्बन उत्सर्जन, हरित गृह ग्यास उत्सर्जन लगायत वातावरणीय प्रदुषणमा कमी आउने पनि उनले जानकारी दिए ।
नेपालमै व्यापक सम्भाव्यता भएको हाइड्रोजनको प्रयोगमा बढावा दिएर नेपालको परनिर्भरता घटाउन सहयोग गर्दछ । नेपालको जलस्रोतको सम्भावनाले विश्वमै कम खर्चमा हाइड्रोजन उत्पादन गर्नसक्ने मुलुक नेपाल बन्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
अहिले नै नेपालबाट हाइड्रोजन निकासी गर्नेभन्दा पनि आन्तरिक रुपमा खपत गराउन सके धेरै नै सम्भावनाका द्वारहरु खुल्ने देखिन्छ । अहिले नेपालमै भइरहेका सवारी साधनमा यसको सम्भावित प्रयोग एउटा ठूलो कोशेढुंगा बन्न सक्दछ ।
यसअघि काठमाडौँ विश्वविद्यालय (केयू) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापना गरी सफल परीक्षण गरिसकेको छ । यसको उद्घाटन समेत भइसकेको छ । केयुले नेपालमै पहिलोपटक हाइड्रोजनबाट चल्ने कारमा ग्रिन हाइड्रोजन रिफ्युलिङ गर्ने कार्य सुरु गरेको हो ।