काठमाडाैँ । अविरल वर्षा कारण आएको बाढीपहिरोले निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । निरन्तर वर्षासँगै आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित अन्य जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
दोलखाको बिगु गाउँपालिकाको लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको छ । बाँधमा क्षति पुर्याएपछि शुक्रबार साँझ ७ बजेबाट उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरु समेत खुल्ला गरिएको छ ।
यसैगरी, नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी, बाँधबाट डिस्याण्डरसम्मको पानी पुर्याउने नहर लगायतमा क्षति पुगेको छ ।
पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ।
यसैगरी, बागमतिको बाढी र कुलेखानी ड्याम खोल्दा माण्डु हाइड्रोपावर कम्पनीको सञ्चालनमा रहेको २२ मेगावाटको माण्डु खोला जलविद्युत् आयोजनाको पावरहाउस पनि पूणै रुपले डुवानमा परेको जनाइएको छ ।
साथै, २२.१ मेगावाटको तल्लो हेवा खोलाको विद्युतगृह पनि डुवानमा परेको छ । गत वर्ष पनि बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । गत वर्ष बगाएको यही आयोजनाको पुल पनि फेरि बाढीले बगाएको छ ।