काठमाडाैँ । अविरल वर्षासँगै आएको बाढी पहिरोले सरकारी तथा निजी क्षेत्रका १११८ मेगावाटका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन तथा निर्माण सम्पन्न १७ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार सरकारको ४५६ मेगावाटको माथिल्लो तामाकोसी र निजी क्षेत्रको १६ जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण आइसकेको छ । अझै थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।
क्षति पुगेको आयोजनाहरूः
१) मान्डू हाइड्रो पावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत् आयोजनाको पावरहाउस पूर्ण रूपमा डुबेको ।
२) माउन्टेन हाइड्रो नेपालद्वारा पाँचथरमा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पनि पावरहाउस डुबानमा परेको छ । यो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो ।
३) पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त ।
४) साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ । यसको उत्पादन बन्द छ ।
५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द ।
६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति ।
७) १ मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूर्णरूपमा क्षति ।
८) ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति ।
९) ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति ।
१०) २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँचमार्गमा ठूलो क्षति ।
११) २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको ।
१२) १० मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारण लाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएकाे ।
१३) १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनाको पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको ।
१४) ६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति ।
१५) ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति ।
१६) १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको छ ।
१७) माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीद्वारा सञ्चालन भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना क्षति पुगेको छ । नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी, बाँधबाट डिस्याण्डरसम्मको पानी पुर्याउने नहरलगायतमा क्षति पुगको छ ।