काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । एकातिर प्राधिकरणले लाइन जाेडिरहँदा अर्काेतर्फ भने विद्युत् बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटमाथि सुनुवाईका लागि आज (बुधबार) नै पेसी तोकिएको छ ।
प्राधिकरणले बक्यौता नतिर्ने उद्याेगकाे गत कात्तिक ८ गतेदेखि लाइन काटेको थियाे । आइतबार (कात्तिक २५ गते) को मन्त्रिपरिषद बैठकले उद्योगहरूमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्काे निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले उद्योगहरूमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरूलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरूमा लाइन जोडिएको प्राधिकरणले जानकारी दिएकाे छ । बुधबार बिहानसम्म लाइन काटिएका सबै उद्याेगकाे लाइन् जाेडिने जनाइएकाे छ ।