आजभन्दा ११३ वर्षअघि देशको सम्पूर्ण राजकीय अधिकार राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबरामा थियो । श्री ३ महाराजहरू बेलायत (इंल्याण्ड) को भ्रमण गरिरहन्थे । जसले गर्दा बेलायतको विकास निर्माण नेपालमा पनि भित्रिन थालेका थिए ।
त्यसैको नक्कल स्वरुप श्री ३ चन्द्र शमशेरले नेपालमा निर्माण गरेको ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजना वि.सं १९६८ मा उद्घाटन भयो । जसलाई ‘श्री चन्द्रज्योती प्रकाश’ नामकरण गरियो ।
नेपालको दोस्रो अर्थात माइला जलविद्युत् आयोजनाको रूपमा प्रधानमन्त्री जुद्ध शमशेरले ६४० किलोवाटको सुन्दरीजल जलविद्युत् आयोजना निर्माण थाले । देश हाक्ने तथा शासन गर्ने राणाहरूको दरबार तथा कार्यालयमा बत्ति बाल्ने उद्देश्यले सुन्दरीजलको कल्पना भएको थियो । सोहीअनुसार फर्पिङको उद्घाटन भएको करिब २३ वर्षपछि अर्थात वि.सं १९९१ सालदेखि बिजुली उत्पादन गर्ने घट्ट घुम्न थाल्यो ।
‘घ्वारघ्वार’ घुमेको घट्टबाट उत्पादन भएको बिजुलीले राज्यका थप मूख्य निकायहरू झलमल बनायो । यो जलविद्युत् विकासमा नेपालले हासिल गरेको दोस्रो ठूलो उपलब्धि थियो ।
तत्कालिन समयमा राष्ट्रिय ग्रिडको कल्पना नहुँदा बिजुलीघरबाट उत्पादन भएको बिजुली सिँधै राणाहरूको दरबार तथा कार्यालयमा आपूर्ति हुन्थ्यो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको बागमतिको मुख्य स्रोत र नागमति, सयौमतिको समेत पानी उपयोग गरी उत्पादन भएको बिजुली हाल नेपाल विद्युत् प्राधिकरणको बानेश्वर ग्रिडमा जोडिएको छ ।
जुन बिजुलीले बानेश्वर, सुन्दरीजल, जोरपाटीलगायतका क्षेत्रलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । यो आयोजना काठमाडौँबाट करिब १५ किलोमिटर पूर्वात्तरतर्फ छ ।
यो केन्द्र ‘कोलोम्बो प्लान’ अन्तर्गत निर्माण गरिएको थियो । जसमा निर्माण नेपालले गर्ने र मूख्य उपकरणहरू इंल्याण्डको इङ्गलिस इलेक्ट्रिक कम्पनी लिमिटेडले उपलब्ध गराएको थियो ।
नेपालकै दोस्रो पुरानो जलविद्युत् केन्द्र जिर्ण भन्दै गएपछि अहिले यसको क्षमता बढाएर पुनर्निर्माण गरिएको छ । ‘तिनाउ–सुन्दरीजल जलविद्युत् केन्द्र’ पुन स्र्थापना आयोजना अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा केन्द्रको क्षमता ६४० बाट ९७० किलोवाटमा स्तरोन्नति भएको छ ।
यसका मूख्य संरचनाहरूमा १३६८ मिटर लामो पेनस्टक पाइप र ९९ मिटर लामो सुरुङ, पावरहाउसमा ४८५ किलोवाटको दुईवटा होराइजोन्टल पेल्टोन टर्बाइन जडान गरिएको छ ।
विद्युतगृहबाट वार्षिक ७.१८ गिगावाट घण्टा विद्युत् उत्पादन भइरहेको छ । जसमा वर्षायाममा ७० प्रतिशत अर्थात ४.९९ गिगावाट घण्टा र हिउँदयाममा ३० प्रतिशत अर्थात २.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने गरेको छ । यसबाट आर्थिक वर्ष २०८०÷८१ मा ६.२ गिगावाट घण्टा विद्युत् उत्पादन भएको थियो ।
जीर्ण नागमती डाइभर्सन नहर (४०० एलपीएसबाट ७०० एलपीएस) को मर्मत सम्भार र क्षमता वृद्धिका कारण नहरले वार्षिक १३ लाख घनमिटर पानी छोड्छ । फलस्वरुप सुन्दरीजलबाट ४,७६,५६८ युनिट विद्युत् उत्पादन हुन्छ ।
वागमती स्वच्छता एककृत विकास समितिले प्राधिकरणलाई कुनै आर्थिक भार नपर्ने गरी एक करोड १३ लाख रुपैयाँको लागतमा सो कार्य सम्पन्न गरेको थियो । नागमती नहर बन्द भएको र वागमती नदीमा पानीको बहाव अघिल्लो वर्षको तुलनामा कम भए पनि चालू आवमा आयोजनाले लक्ष्यको ९५.९५ प्रतिशत उत्पादन गर्न सफल भएको छ ।
यो केन्द्रको टेलरेसबाट निस्केको पानी खानेपानीको रूपमा समेत प्रयोग हुँदै आएको छ । जसबाट जोरपाटी लगायतका क्षेत्र लाभान्वित भएका छन् ।
जलविद्युत केन्द्रको थप विवरण
जिल्ला | काठमाडौँ |
इन्टेक साइट | गोकर्णेश्वर–१, मुलखर्क |
पावरहाउस | गोकर्णेश्वर–१, सुन्दरीजल |
क्षमता | ९७० किलोवाट |
टर्वाइन | २ वटा, होराइजोन्टल पेल्टोन |
ट्रान्सफर्मर | १२५० केभीए |
प्रसारण लाइन | ११ केभी, १० किलोमिटर |
पेनस्टक पाइप | १३६८ मिटर |
टनेल | ९९ मिटर |
अधिकतम जलाशय क्षमता | इएल १५८३.९४ मिटर |
ग्रस हेड | २१६ मिटर |
टेलरेस | १३६७.६९ |
यस आयोजनाकाे फाेटाे, भिडियाे लगाएत अन्य बृस्तृत जानकारी ऊर्जा संचारबाट लिन सकिने छ ।