काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेडले मनाङमा निर्माण अघि बढेकाे ७.८३ मेगावाटकाे चिनाे खाेला जलविद्युत आयोजना १३६ कराेड रुपैयाँ ऋण लगानी गर्ने भएकाे छ । बैंकले चिनो हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा लगानी गर्नेगरी कम्पनी र बैंकबीच वित्तीय व्यवस्थापन सम्झाैता भएको छ ।
सम्झौतापत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रो पावर लिमिटेडका अध्यक्ष बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त आयोजना मनाङ जिल्लाको नासोङ गाउँपालिकामा निर्माण गरिँदैछ । परियोजना बुटवल पावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा अघि बढाइएको हो ।
चाइनिज ठेकेदार कम्पनीलाई ईपीसी मोडेलमा ठेक्का दिइएको छ जसअनुसार आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ । परियोजनाबाट उत्पादन हुने विद्युत् मनाङको धारापानीस्थित सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत खरीद–बिक्री सम्झौता २०८२ सालको वैशाख महीनामै भइसकेको छ । यो आयोजना सम्पन्न भएपछि वार्षिक ४४.४६३ गिगावाट–आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।