काठमाडाैँ । विद्युत् विकास विभागले हाल ५ हजार ८९.०२ मेगावाट क्षमताका जलविद्युत् आयोजना अध्ययन गरिरहेकाे छ । अध्ययनाधीन आयोजनामध्ये जलाशययुक्त आयोजनाको हिस्सा सबैभन्दा बढी देखिएको छ ।
विभागका अनुसार अध्ययन भइरहेका आयोजनामध्ये ३ हजार ६४२.१५ मेगावाट क्षमताका आयोजना जलाशययुक्त, १ हजार ३०६.७४ मेगावाटका आयोजना आंशिक जलाशययुक्त तथा १४०.१३ मेगावाट क्षमताका आयोजना नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिका छन् ।
अध्ययनाधीन आयोजनामध्ये सबैभन्दा ठूलो १ हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय जलविद्युत् आयोजना हो, जुन जलाशययुक्त आयोजना हो । याे परियाेजना रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिकामा रहेकाे छ । यसबाहेक ६५० मेगावाटको कालीगण्डकी–२, ६४० मेगावाटको कालीगण्डकी, ३२५ मेगावाटको भारबुङ, २७३.४ मेगावाटको तल्लो बडीगाड, १९४.१ मेगावाटको सुर्णयागाड, १६९.५ मेगावाटको चेरा–१, ११९ मेगावाटको मादी सिटी तथा ५५.१५ मेगावाटको मनहरी खोला पनि जलाशययुक्त आयोजनाका रूपमा अध्ययन भइरहेका छन् ।
यस्तै, आंशिक जलाशययुक्त आयोजनातर्फ ६८१.२ मेगावाटको हुम्ला कर्णाली, २११.२ मेगावाटको भेरी–२, १३६.४८ मेगावाटको माथिल्लो कर्णाली ‘बी’, ९७.४३ मेगावाटको डाँडागाउँ–खलङ्गा भेरी, ८९.३५ मेगावाटको मुगु कर्णाली, ४९.२६ मेगावाटको घाटगंगा तथा ४२ मेगावाटको मर्स्याङ्दी–३ आयोजना अध्ययनाधीन छन् ।
नदी प्रवाही आयोजनामा भने ६५ मेगावाटको यान्मा खोला, ४०.२ मेगावाटको टोम डोगर र ३४.९३ मेगावाटको सुपर बुढीगण्डकी आयोजना अध्ययनको चरणमा रहेका छन् ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा सुख्खायाममा पनि स्थिर विद्युत् उत्पादन सुनिश्चित गर्न सक्ने भएकाले जलाशययुक्त र आंशिक जलाशययुक्त आयोजनाप्रति प्रवर्द्धकहरूको आकर्षण बढ्दै गएको छ । यद्यपि अध्ययन सम्पन्न भएका आयोजना समयमै निर्माणमा प्रवेश गर्न नसक्नु भने ऊर्जा क्षेत्रको प्रमुख चुनौतीका रूपमा कायम छ ।








