काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेलले विद्युत्को खपत बढाउनका लागि विद्युतीय सवारी (ईभी) को करलाई स्थिर राखिएको बताएको छन् । देशमा विद्युत् उत्पादन बढ्दै गएसँगै यसको खपत बढाउन यो नीति अपनाएको बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय विद्युतीय सवारीको संख्या बढ्दै गएको र थप बढाउनका लागि करलाई स्थिर राखिएको बताए । उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताए ।
अहिले नेपालको विद्युत् खपत करिब २ हजार मेगावाटको हाराहारीमा रहेको छ । नेपालको विद्युत् जडित क्षमता करिब ३५ सय मेगावाट पुगिसकेको छ । नेपाल विद्युत् प्राधिकरणले पनि विद्युत् खपत बढाउन विद्युतीय पूर्वाधार निर्माण गर्ने, स्तरोन्नति गर्ने कामलाई तिव्रता दिएको छ ।
निजी क्षेत्रले विद्युत् आयोजना निर्माण तिव्र गतिमा अघि बढाएसँगै प्रणालीमा बिजुली थपिदै गएका छन् । र उत्पादन अनुसारको खपत नहुँदा विद्युत् खेर जाने क्रम पनि रहेको छ । विद्युत् खेर जान नदिन र आन्तरिक खपत बढाउन सरकारले विद्युतीय सवारीको प्रयोग, विद्युतीय चुलोको प्रयोगलाई बढाउने नीति अबलम्बन गर्दै आएका छन् । सोही अनुरुप बजेटबाटै यो व्यवस्था पनि गरिएको छ ।








