Monday, January 19, 2026
spot_img

जलविद्युत् क्षेत्रको छुट्टै बीमालेख आवश्यक

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल भएको छ । बिहिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान), नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत क्षेत्रको बीमामा देखिएका कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवम् राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल शुरू गरिएको बताए ।

उनले इप्पानले उठाएका जलविद्युत क्षेत्रको बीमा सम्बन्धी विषयहरूलाई प्राधिकरणले गम्भीर रूपमा लिएको उल्लेख गर्दै जलविद्युत र बीमा, व्यवसाय सँगसँगै सेवा पनि भएकाले यस सम्बन्धी समस्याको समाधानका लागि सन्तुलित विन्दु खोज्नुपर्ने र हाम्रो देशको जस्तै सामाजिक तथा आर्थिक परिवेश भएका र जलविद्युत विकास गर्दै आएका अन्य देशहरूको अभ्यास समेतलाई हेर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यकारी निर्देशक सुवेदीले जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण, बीमा सचेतना अभिवृद्धि र जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरूको समाधानका लागि आन्तरिक संयन्त्रलाई सबल बनाउनका लागि प्राधिकरणले पहल गर्ने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले जलविद्युत क्षेत्रको बीमामा देखिएका समस्या एवम् चुनौतीहरूको समाधानका लागि सम्बद्ध सरोकारवालाहरूबाट सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा ईप्पानका पदाधिकारीहरूले जलविद्युत क्षेत्रको बीमाको प्रिमियममा हाल कायम रहेको बीमादरको व्यवस्था हटाउनुपर्ने, खुला बजार अर्थतन्त्रमा माग र आपूर्तिका आधारमा बजारले नै बीमादर निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने, जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण गर्नुपर्ने लगायतका धारणा राखे ।

कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नेपालमा जलविद्युत क्षेत्रमा अत्यधिक जोखिम भएको भन्दै अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले जलविद्युत क्षेत्रको बीमाको पुनर्बीमा गर्न नमानेको, अत्यधिक जोखिमका कारण स्वदेशी पुनर्बीमकले पनि कतिपय अवस्थामा पुनर्बीमा गर्न नसकेको जानकारी दिएका थिए । यसैगरी, जोखिम बढेसँगै प्रिमियम नबढेमा आगामी दिनमा जलविद्युत क्षेत्रको पुनर्बीमा नै गर्न नसक्ने अवस्था आउनक्ने देखिएको, जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरू समाधान गर्दै अघि बढ्न जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण र सम्बद्ध सबैको सहभागितामा जलविद्युत क्षेत्रको बीमापुल बनाउनु आवश्यक रहेको लगायतका विचार व्यक्त गरेका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img