Monday, June 8, 2026
spot_img

पूर्व मन्त्री कुलमान घिसिङद्वारा ‘इनर्जी ह्याकाथन ९.०’ उद्घाटन

spot_img

Share

spot_img

काठमाडौँ । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ‘इनर्जी ह्याकाथन ९.०’ कार्यक्रमको उद्घाटन गरेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको संस्था लोकस द्वारा आयोजित उक्त कार्यक्रम आज पुस ३० गते घिसिङ र प्रोफेसर सुशिल बज्राचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘इनर्जी ह्याकाथन ९.०’ अन्तर्गत ऊर्जा दक्षता, वैकल्पिक ऊर्जा, माग–पक्ष व्यवस्थापन (Demand Side Management) तथा ऊर्जाका लागि कृत्रिम बुद्धिमत्ता (AI) जस्ता प्रमुख विषयहरूमा केन्द्रित रही नवप्रवर्तनात्मक समाधानहरू प्रस्तुत गरिनेछ ।

उद्घाटन समारोहमा बोल्दै पूर्व मन्त्री घिसिङले ‘इनर्जी ह्याकाथन ९.०’ का लागि अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण विषयवस्तु छनोट गरिएको बताए । उनले नेपालको ऊर्जा क्षेत्रका लागि माग–पक्ष व्यवस्थापन अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्दै आफूले पनि स्नातकोत्तर तहको थेसिस डिमाण्ड साइट म्यानेजमेन्टमै गरेको स्मरण गरे । लोडसेडिङ अन्त्य हुनुको प्रमुख कारण नै माग व्यवस्थापन भएको बताउँदै उनले उपभोक्ताको व्यवहार, पिक र अफ–पिक समयमा विद्युत् माग कसरी व्यवस्थापन गर्ने भन्ने विषय निर्णायक रहेको स्पष्ट पारे ।

घिसिङका अनुसार लोडसेडिङ अन्त्य हुँदाको समयमा नेपालको कुल विद्युत् उत्पादन करिब ८०० मेगावाट मात्र थियो भने हिउँदयाममा करिब ३०० मेगावाटमा सीमित हुन्थ्यो । त्यस अवस्थामै पनि प्रभावकारी माग व्यवस्थापनमार्फत लोडसेडिङ हटाउन सफल भएको उनले बताए ।

हाल देशको कुल जडित विद्युत् क्षमता करिब ४ हजार मेगावाट पुगे पनि अझै भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित हुन नसकेको उल्लेख गर्दै उनले हिउँदयाममा अझै विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए । प्रसारण लाइन, सबस्टेसनजस्ता विद्युत् संरचनाहरूलाई मजबुत बनाउन थप लगानी आवश्यक रहेको उनको भनाइ थियो ।

उनले कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगले विश्वभर विद्युत् खपत बढिरहेको उल्लेख गर्दै नेपालमा डाटा सेन्टरको ठूलो सम्भावना रहेको बताए । विदेशी कम्पनीहरूले नेपालमा डाटा सेन्टर स्थापना गर्न चासो देखाइरहेको जानकारी दिँदै विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोग बढ्दै जाँदा देशको विद्युत् खपत वृद्धि भएको र पेट्रोलियम पदार्थको आयात क्रमशः घट्दै गएको पनि बताए ।

यस्तो परिवेशमा ‘इनर्जी ह्याकाथन ९.०’ मा समेटिएका विषयहरू अत्यन्तै महत्वपूर्ण र समयसापेक्ष रहेको घिसिङले उल्लेख गरे ।

कार्यक्रममा प्रोफेसर सुशिल बज्राचार्यले पनि ‘इनर्जी ह्याकाथन ९.०’ का लागि चयन गरिएका विषयवस्तु उपयुक्त रहेको भन्दै यसमार्फत गहिरो छलफल र नवप्रवर्तनात्मक सोच विकास भई देशको ऊर्जा क्षेत्र र समग्र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा नेपाल विद्युत् प्राधिकरण रहेको छ भने गिफ्टिङ पार्टनरको रूपमा कायो क्रियटिभ स्टुडियो, सपोर्टिङ पार्टनरका रूपमा विद्युत् नियमन आयोग र एनइए इन्जिनियरिङ रहेका छन् । यसैगरी, ‘इनर्जी ह्याकाथन ९.०’ को मिडिया पार्टनरका रूपमा ऊर्जा सञ्चार रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img