काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म ४२ करोड ६२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशत बढी हो ।
कम्पनीले अघिल्लो वर्ष साेही समयावधिमा ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले पुस मसान्तसम्म विद्युत् बिक्री गरेर ९५ करोड ९२ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि अघिल्लो वर्षको तुलनामा बढेको हाे । कम्पनीले अघिल्लो वर्ष सोही अवधिसम्म ८५ करोड ८० लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले हाल ८.५ मेगावाट नौगाड गाड साना जलविद्युत् आयोजना, ८ मेगावाट अपर नौगाड गाड, ४ मेगावाट चन्द्रनिगाहपुर सोलार, १/१ मेगावाट ढल्केबर र सिमरा सोलार तथा ४० मेगावाट माथिल्लो चमेलिया जलविद्युत् आयोजना व्यावसायिक रूपमा सञ्चालन गर्दै आएको छ ।
कम्पनीका अनुसार दोस्रो त्रैमासमा सेयर अधिकतम २९९.८० रुपैयाँ र न्यूनतम २६९ रुपैयाँसम्म कारोबार भएको थियो भने अन्तिम कारोबार मूल्य २८९.३० रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँ बढेर १४.३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.५८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ ।
जलविद्युत् आयोजना, सौर्य विद्युत् आयोजना, वायु ऊर्जा र हाइड्रोजनसमेत उत्पादन गरी मिश्रित ऊर्जा उत्पादनमा नेपालकै सर्वोत्कृष्ट कम्पनी बन्ने अपि पावरको योजना छ ।








