काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउने तयारी गरेको छ । हालको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहे पनि अब यसलाई परिवर्तन गर्ने प्रस्ताव अघि बढाइएको हाे ।
आगामी २४औँ साधारण सभा तथा ८औँ अधिवेशनमार्फत विधान संशोधन गरी उक्त प्रावधान खारेज गर्ने विषयमा कार्यसमितिमा सहमति बनेको हो ।
हालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी आगामी कार्यकालका लागि भने स्वतः अध्यक्ष बन्ने निश्चित छ । त्यसपछि पनि अर्को एक कार्यकालसम्म पुरानै व्यवस्था लागू हुने सम्भावना रहेको छ । तर त्यसपछिका कार्यकालमा अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था लागू गरिने तयारी गरिएको छ ।
इप्पानले अब अध्यक्षबाहेक अन्य सबै पदमा साधारण सदस्यले प्रत्यक्ष प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पनि गर्न लागेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिन भने कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेर काम गरेको अनुभव अनिवार्य गरिने प्रस्ताव छ ।
संस्थाका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा वैशाख ४ गते बसेको २००औँ कार्यसमिति बैठकले आगामी २०८३ जेठ २९ गते काठमाडौंमा २४औँ साधारण सभा तथा ८औँ अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । अधिवेशनको तयारीका लागि महासचिव बलराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ, जसमा सचिव हिम पाठक र सदस्य कुबेरमणि नेपाल रहेका छन् ।
बैठकले निर्वाचन अधिकृत चयनको जिम्मेवारी अध्यक्षलाई दिने, जेठ १५ गतेसम्म सदस्यता नवीकरणका लागि आह्वान गर्ने तथा नयाँ सदस्यता खुला गर्ने निर्णय पनि गरेको छ। तीन वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका सदस्यहरूको विषयमा थप अध्ययन गरी आगामी बैठकमा निर्णय गरिने जनाइएको छ ।
यसैबीच, इप्पानलाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव भने कानुनी तथा प्रक्रियागत जटिलताका कारण हाललाई थाती राखिएको छ। विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिले दिएको सुझावलाई समेट्दै आगामी बैठकमा संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।
त्यसैगरी, संस्थाले नयाँ सदस्यका लागि आह्वान गर्दै १९ वटा कम्पनीलाई नयाँ सदस्यका रूपमा स्वीकृति दिने निर्णय पनि गरेको छ।








