काठमाडौँ । सानिमा माई हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित दुई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएका छन् । कम्पनीले इलामस्थित माई जलविद्युत केन्द्र (२२ मेगावाट) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेगावाट)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको जनाएको छ ।
गत असोज १८ गते परेको अविरल वर्षापछि माई खोलामा आएको बाढी तथा पहिरोका कारण दुवै आयोजना अस्थायी रूपमा बन्द भएका थिए । बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रअन्तर्गतका संरचनामा क्षति पुर्याएपछि उत्पादन अवरुद्ध भएको थियो ।
कम्पनीका अनुसार क्षतिग्रस्त संरचनामध्ये हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत तथा परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ । आवश्यक प्राविधिक परीक्षणपछि दुवै केन्द्र पुनः ग्रिडमा जोडिएको जनाइएको छ ।
उत्पादन पुनः सुरु भएसँगै कम्पनीले यसअघि घोषणा गरिएको विशेष अवस्था पनि समाप्त भएको जानकारी दिएको छ । आयोजना सञ्चालनमा फर्किएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप २९ मेगावाट विद्युत आपूर्ति पुनः सुनिश्चित भएको छ ।








