नेपालको विद्युतीय पूर्वाधार विकासमा स्वदेशी उद्योगको योगदान बढ्दै गएको सन्दर्भमा लिटमस इन्डस्ट्रिज लिमिटेड एक उदाहरणीय नामका रूपमा उभिएको छ । विद्युतीय प्रसारण तथा वितरण सामग्री उत्पादनको क्षेत्रमा कम्पनीले महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सन् १९७७ (वि.सं. २०३४) मा ‘लुम्बिनी विद्युत् उद्योग प्राइभेट लिमिटेड’का रूपमा स्थापना भएको यो कम्पनी आज नेपालको पहिलो कन्डक्टर (विद्युत् तार) उत्पादक उद्योगको रूपमा परिचित छ । विशेषगरी, प्रसारण तथा वितरण लाइनमा प्रयोग हुने ‘एसीएसआर’ (आल्मुनियम कन्डक्टर स्टील रियन्फोस्र्ड) कन्डक्टर उत्पादन गर्ने पहिलो उद्योगको रुपमा कम्पनीले आफ्नो अलग पहिचान बनाएको छ । जुन कम्पनीका लागि गर्वको विषय बनेको छ ।

सुरुवाती चरणमा देशमा जलविद्युत् आयोजनाहरू सिमित थिए र बजारको माग पनि न्यून थियो । त्यतिबेला नेपाल झन्डै अँध्यारो अवस्थामा थियो । जलविद्युत् विकासको प्रारम्भिक चरणमा प्रसारण तथा वितरणका लागि आवश्यक कन्डक्टरहरू भारत र चीनबाट आयात गर्नुपर्ने अवस्था थियो । यही सन्दर्भमा ‘किन स्वदेशमै उत्पादन नगर्ने ?’ भन्ने सोचका साथ निजी क्षेत्रबाट उद्योग स्थापना गरिएको थियो । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवर्द्धन नै कम्पनीको मूल उद्देश्य थियो ।
उत्पादनको विस्तार र प्रविधिगत उन्नति
कम्पनीले सुरुवात एसीएसआर कन्डक्टरबाट गरे पनि समयसँगै आफ्नो उत्पादन दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ । विद्युत् वितरण घर–घरमा विस्तार हुन थालेपछि हाउस वायरिङका तारहरू उत्पादनमा जोड दिइयो । त्यसपछि उद्योग तथा पूर्वाधारका लागि पावर केबल र कन्ट्रोल केबलहरू थपिँदै गए ।

हाल कम्पनीले एसीएसआर कन्डक्टर, एबिसी (एरिअल बन्चड् केबल), पावर केबल, कन्ट्रोल केबल तथा हाउस वायरिङ सामग्री उत्पादन गरिरहेको छ । साथै, नयाँ प्रविधिअन्तर्गत एक्सएलपिई, एफआरएलएस, एएल–५९ (Aluminum Alloy) र एचटिएलएस (HTLS) जस्ता आधुनिक कन्डक्टर उत्पादनको तयारी तथा विस्तार भइरहेको छ । यी प्रविधिहरू उच्च तापक्रम सहन सक्ने, कम झोलिने (Less sag) र सुरक्षित विद्युतीय प्रवाहका लागि अत्यन्त उपयोगी मानिन्छन् ।
अन्तर्राष्ट्रिय बजारमा सफलता
भुटानमा सन् २००४ देखि २०१७ सम्म ठूलो परिमाणमा कन्डक्टर तथा केबल निर्यात गरेको कम्पनीले अहिले भारततर्फ पनि बजार विस्तार गरिरहेको छ । भारतमा ‘लायजिङ अफिस’ स्थापना गरी टेन्डर प्रक्रियामा सक्रिय सहभागिता जनाइरहेको छ । साथै, परासीस्थित नयाँ प्लान्टबाट उत्पादन भइरहेको आल्मुनियम रड हाल भारतमा निर्यात भइरहेको छ ।

लिटमस इन्डस्ट्रिजले अब सीमापार बजारमा पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । भारत र चीनजस्ता ठूला उत्पादक राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै आफुलाई स्थापित गर्नु चुनौतिपूर्ण भएपनि कम्पनीले प्राविधिक क्षमतामा निरन्तर सुधार गर्दै अघि बढेका छ । जसका कारण अहिले कम्पनी ४०० केभी प्रसारण लाइनका लागि आवश्यक कन्डक्टर उत्पादन गर्न सक्षम भइसकेको छ ।
भारतको सतलज जलविद्युत् निगमअन्तर्गत निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण–३ आयोजनाका लागि ४०० केभी प्रसारण लाइनमा प्रयोग हुने २७९९ किलोमिटर एसीएसआर ‘मूज’ कन्डक्टर आपूर्ति गर्ने ठेक्का प्राप्त गर्नु कम्पनीका लागि ऐतिहासिक उपलब्धि हो । करिब २५० करोड रुपैयाँ बराबरको यो ठेक्का नेपाली उत्पादनको अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको प्रमाण हो ।

यसअघि नेपालकै पहिलो ४०० केभी हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनमा पनि कम्पनीले सफलतापूर्वक कन्डक्टर आपूर्ति गरिसकेको छ । उक्त लाइनमा प्रयोग गरिएको कन्डक्टरले दुई वर्षभन्दा बढी समयदेखि कुनै समस्या बिना सेवा दिइरहेको छ ।
यहि अनुभवका आधारमा कम्पनीले विदेशी टेण्डरहरू समेत आफ्नो उपस्थिती बलियो बनाउँदै गएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न कम्पनीले पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड (PGCIL) जस्ता प्रतिष्ठित संस्थाबाट कडा प्राविधिक अडिट पार गरेको छ । यसले कम्पनीको उत्पादन, मेसिनरी र व्यवस्थापन विश्वस्तरको रहेको पुष्टि गरेको छ ।
भविष्यमा अफ्रिकी मुलुकहरूमा समेत निर्यात विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ । साथै, एसीएसआर, एबिसी केबल तथा मिडियम भोल्टेज कर्भड कन्डक्टरजस्ता ‘फिनिस्ड गुड्स’ निर्यात गर्ने योजना पनि अघि सारिएको छ ।
गुणस्तरमा विश्वास, ब्रान्डमा पहिचान
गुणस्तरका हिसाबले पनि कम्पनीले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सुरुमा नेपाली उत्पादनप्रति शंका व्यक्त गरिएपनि अध्याधुनिक मेसिन र प्रयोगशाला उपकरणको प्रयोग र कडाइका साथ गरिएको अडिटपछि विदेशी कम्पनीहरूले यसको गुणस्तरलाई विश्वस्तरको मानेका छन् ।
कम्पनीले उपभोक्ताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो पूँजी मान्दै आएको छ । गुणस्तरमा निरन्तरता र एकरूपता कायम राख्दै ‘लिटमस’लाई विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ ।
कम्पनीले आफ्नो उत्पादनको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै मापदण्डहरू कडाइका साथ पालना गर्दै आएको छ । कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट हाउस वायरिङका लागि आवश्यक ‘एनएस ३४४’ प्रमाणपत्र प्राप्त गरी सन् २००३ देखि पालना गर्दै आएको छ । साथै, इसिएसआर कन्डक्टरतर्फ नेपाल गुणस्तर चिन्ह् प्राप्त गरी सम्भवतः एकमात्र कम्पनीको रूपमा पनि अलग पहिचान बनाएको छ ।

अन्तराष्ट्रिय स्तरमा पनि कम्पनीले भारतीय मापदण्ड अन्तर्गत विभिन्न प्रमाणपत्रहरू प्राप्त गरेको छ । पावर केबलका लागि आईएस १५५४ र हाउस वायरिङका लागि आइएस ६९४ जस्ता मापदण्डहरू पालना गर्दै आएको कम्पनीले हालै पीभीसी र एक्सएलपीई इन्सुलेटेड पावर केबलका लागि थप आईएस प्रमाणपत्रहरू समेत हासिल गरेको छ । हाउस वायरिङमा प्रयोग हुने जेडएचएफआर तारका लागि पनि छुट्टै आईएस प्रमाणपत्र लिइएको छ । यी सबै मापदण्डहरू भारतको ‘ब्युरो अफ इन्डियन स्टयान्डर्ड्स (बीआईएस)’ द्वारा प्रदान गरिन्छ, जसले उत्पादनको अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चित गर्छ ।
यसका अतिरिक्त कम्पनीले अन्तराष्ट्रिय स्तरका आईएसओ प्रमाणपत्रहरू पनि प्राप्त गरेको छ । वातावरणीय व्यवस्थापनका लागि आईएसओ १४००१, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा मापदण्ड र गुणस्तर व्यवस्थापन प्रणाली सम्बन्धी छुट्टाछुट्टै प्रमाणपत्रहरू हासिल गर्दै लिटमसले उत्पादनदेखि व्यवस्थापनसम्म सबै क्षेत्रमा उच्च मापदण्ड कायम गरेको छ ।
नीतिगत सुधार आवश्यक
स्वदेशी उद्योग प्रवद्र्धनका लागि सार्वजनिक खरिद ऐनमा सुधार आवश्यक रहेकोे छ । विशेषगरी निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एउटै ‘बास्केट’मा राखेर नीति निर्माण गर्दा उत्पादनमुलक उद्योगहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यसले स्वदेशी उत्पादकलाई प्रतिस्पर्धामा कमजोर बनाउने अवस्था सिर्जना गरेको छ ।
हालको व्यवस्था आयातमुखी भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति आवश्यक रहेको छ । कच्चा पदार्थमा भन्सार र भ्याट लाग्ने तर तयारी सामान आयातमा छुट पाइने अवस्थाले स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाएकोे छ । ‘इक्वेल फुटिङ’ अर्थात् समान अवसर उपलब्ध गराइएमा स्वदेशी उद्योग अझ सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ । निर्माण सेवा र सामान आपूर्तिलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने र बजेट निर्माणमा सरोवारवालासँग परामर्श गर्ने अभ्यास बसाल्नुपर्छ ।
बजेट निर्माणका क्रममा स्वदेशी उत्पादक तथा सम्बन्धित संघ संस्थाहरूसँग पर्याप्त छलफल र परामर्श गर्ने परिपाटी विकास गर्नुपर्छ । जसले नीतिहरूलाई व्यवहारिक र उद्योगमैत्री बनाउन मदत पुर्याउनेछ ।
ऊर्जा लक्ष्यमा स्वदेशी उद्योगको भूमिका
सरकारले लिएको २८,५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य पूरा गर्न प्रसारण तथा वितरण पूर्वाधार अत्यावश्यक छ । यसै सन्दर्भमा स्वेदेशी उद्योगहरूको भूमिका केबल सामग्री आपूर्तिमा सीमित नभई समग्र ऊर्जा प्रणालीलाई दिगो र सक्षम बनाउनेतर्फ केन्द्रित हुन्छ ।

स्वदेशमै उत्पादन हुने समान प्रयोग गर्दा विदेशी मुद्रा बचत हुने, आयातमा निर्भरता घट्ने, रोजगारी सिर्जना हुने, आयोजना निर्माण समय घट्ने र ऊर्जा सुरक्षामा समेत टेवा पुग्छ । ऊर्जा क्षेत्रको विस्तारसँगै उच्च भोल्टेज प्रसारण लाइन, स्मार्ट ग्रिड तथा आधुनिक वितरण प्रणालीको आवश्यकता बढ्दै जाने भएकोले स्वदेशी उद्योगहरूले गुणस्तरीय र अन्तराष्ट्रिय मापदण्डअनुसारका सामग्री उत्पादन गरी निर्धारित लक्ष्य र उदेश्य हासिलमा सहकार्य गर्नेछ ।
चुनौतीसँग जुध्दै अघि बढेको यात्रा
नेपालमा उद्योग सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण रहेको कम्पनीको अनुभव छ । कच्चा पदार्थको अभाव, आयातमा निर्भरता, सरकारी प्रक्रियाका जटिलता र अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग समन्वयजस्ता समस्याहरूलाई पार गर्दै कम्पनी अघि बढेको छ । यद्यपि, गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अपनाउँदै अत्याधुनिक प्रविधि र मेसिनरीमा लगानी गरिएको छ ।
उदाहरणका रूपमा, जर्मनीको ‘निहोफ’ कम्पनीको अत्याधुनिक ‘रड ब्रेकडाउन (RBD)’ मेसिन करिब ९ करोड रुपैयाँ खर्चेर ल्याइएको छ, जसले उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मद्दत गरेको छ ।
रोजगारी र भविष्यको मार्गचित्र
हाल कम्पनीका बुटवल औद्योगिक क्षेत्रमा रहेको पहिलो प्लान्ट र परासीमा रहेको ठूलो उत्पादन केन्द्रमार्फत एक हजार बढीलाई प्रत्यक्ष र करिब ६ हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ देशभरका डिलर सञ्जालमार्फत समेत रोजगारी विस्तार भइरहेको छ ।

आगामी दिनमा नयाँ प्रविधि भित्राउने, उत्पादन विविधीकरण गर्ने र इपिसी (इन्जिनियरीङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन) मोडलमा प्रवेश गर्ने कम्पनीको योजना छ । आगामी १० वर्षमा कारोबार र बजार विस्तारलाई ७ गुणासम्म बढाउने लक्ष्यसहित लिटमस इन्डस्ट्रिज नेपाली उद्योगको सशक्त उदाहरणका रूपमा अघि बढिरहेको छ ।








