काठमाडौँ । विद्युत् विकास विभागले लुम्बिनी प्रदेशको गुल्मी र गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा २३७.२ मेगावाटको लोवर बडिगाड जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
विभागले जिल्लाको सत्यवती, चन्द्रकोट, रुरुक्षेत्र, गुल्मि दरबार, छत्रकोट गाउँपालिका र मुसिकोट र रेसुङ्गा नगरपालिका र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालीकोट गाउँपालिका भएर बग्ने नदीमा आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित आयोजनाअनुसार गुल्मि जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ४ र रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ को सिमानामा लुम्दी खोला र बडिगाड नदीको संगमदेखि ७०० मिटरमाथि वडिगाड नदीमा निर्माण हुनेछ ।
बाँधबाट ३.१ किलोमिटर लामो सुरुङमार्फत पानीलाई रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ स्थित रुद्रबेनी बजार नजिकै बडिगाड नदी र कालीगण्डकी नदीको संगमदेखि ७५० मिटर तल्लो क्षेत्रमा कालीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुने विद्युतगृहमा पुर्याइनेछ ।
विद्युत्गृहमा जडान भएको टवाईन घुमाएर २३७.२ मेगावाट विद्युत् उत्पादन गरिनेछ । अहिले प्रस्तावित आयोजनाको वाततावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारी गर्ने काम भइरहेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार आयोजना निर्माणको क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, सामाजिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पार्दछ यकिन गर्नका लागि लिखित राय सुझाव माग गरिएको छ । इच्छुक व्यक्ति, कम्पनी, स्थानीय तह, विद्यालय, अस्पताल लगायत सबैले आगामी ६ दिनभित्र राय/सुझाव उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।








