काठमाडाैँ । आइबी इनर्जी प्रालिले सोलुखुम्बुमा ३० मेगावाटको होंगु खोला १ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकामा आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमति जारी गर्न अन्तिम चरणको काम गरिरहेको छ ।
नदी प्रववाहमा आधारित आयोजनाको डिजाइन बहाव २२.३ घनमिटर प्रतिसेकेण्ड र कुल हेड १६३ मिटर रहनेछ ।
आयोजनामा ५०२० मिटर लामो सुरुङ निर्माण हुनेछ । बाँधको पानीलाई सुरुङमार्फत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहभित्र १० मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान गरिनेछ । टवाईनमा जडान भएको जेनेरेटरमार्फत विद्युत् उत्पादन हुने गरी डिजाइन तयार पारिएको कम्पनीले जानकारी दिएको छ ।
आयोजनाको सबै काम २०८५ भित्र सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । आयोजना पूरा भएपछि वार्षिक १७३.४ गिगावाट घन्टा जिद्युत् उत्पादन हुनेछ । उत्पादित विद्यत् ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।