काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्न लागेको कर्णाली कोरिडोर प्रसारण लाइनको निर्माण पूर्वतयारीको काम सम्पन्न भएको छ । कालिकोटको मान्मबाट सुरु भएर अछाम, सुर्खेत हुँदै दोदोधारासम्म पुग्ने ४०० केभीको लाइनको पूर्व तयारीको काम पूरा गरी निर्माणमा जान लागेको हो ।
पूर्वतयारीको काम पूरा भएको लाइनको शिलान्यास गर्ने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी असार ११ गते अर्थात भोली शिलान्यास गर्ने तयारी भइरहेको छ ।
यो लाइन निर्माणको ठेक्का भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेड गुजरातले पाएको छ । कम्पनीले २०७९ फागुनमा नै ठेक्का पाएको हो । कम्पनीले निर्माण सुरु गरेको ४८ महिनामा काम सक्ने गरी सम्झौता गरिएको छ ।
प्रसारण लाइन निर्माणका लागि कल्पतरुसँग करिब ८ अर्ब रुपैयाँमा सम्झौता भएको छ । यसमा प्रसारण लाइन मात्रै तयार हुनेछ । कल्पतरुले करिब ९५ किलोमिटर लामो प्रसारण लाइन बनाउनेछ ।
कर्णाली कोरिडोर प्रसारण लाइन निर्माणपछि यस क्षेत्रमा उत्पादन हुने बिजुली प्रसारणमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । साथै देशमा गुणस्तरीय बिजुली खपत तथा निर्यातमा सहयोग पुग्ने कम्पनीको भनाइ छ ।