काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा नयाँ मोडल र प्रविधिको प्रतिस्पर्धा बढिरहेका बेला दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आजदेखि सुरु हुँदै छ । चाडपर्वको बिक्री सिजनलाई लक्षित गर्दै आयोजना गरिएको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड, प्लग–इन हाइब्रिड तथा इन्धनबाट चल्ने सवारीसाधनबीच ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा देखिने भएको छ ।
एक्स्पोमा यसपटक ५५ वटा ब्रान्ड सहभागी हुँदै छन् भने करिब ४० नयाँ सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ । गत वर्षको पहिलो संस्करणमा ४२ ब्रान्ड सहभागी रहेकामा यसपटक ब्रान्डको संख्या बढेको हो । यसले नेपाली अटो बजारमा नयाँ ब्रान्ड तथा प्रविधिप्रति व्यवसायीको चासो बढ्दै गएको संकेत गर्छ ।
विशेषगरी ईभी बजारमा पछिल्ला वर्षहरूमा थपिएका नयाँ ब्रान्ड र मोडलले एक्स्पोलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । तर यसपटकको एक्स्पोमा ईभीको मात्र दबदबा रहने छैन । इन्धनबाट चल्ने सवारीसाधन र हाइब्रिड तथा प्लग–इन हाइब्रिड मोडलले पनि आफ्नो बजार हिस्सा जोगाउने प्रयास गर्नेछन् ।
ग्राहकको आवश्यकता फरक–फरक भएकाले सवारीसाधन छनोटमा पनि विविधता देखिने व्यवसायीहरूको अपेक्षा छ । दैनिक शहरी आवतजावतका लागि सानो तथा किफायती ईभी रोज्ने ग्राहकदेखि लामो दूरी, पारिवारिक यात्रा र अफरोड प्रयोजनका लागि एसयूभी तथा हाइब्रिड सवारी खोज्ने ग्राहकसम्मलाई लक्षित गर्दै विभिन्न मोडल एक्स्पोमा राखिएका छन् ।
अब सवारीसाधनको प्रतिस्पर्धा केवल मूल्यमा सीमित नहुने देखिएको छ । विशेषगरी ईभीतर्फ ब्याट्री क्षमता, रेन्ज, चार्जिङ समय, मोटर क्षमता, सुरक्षा प्रविधि, स्मार्ट फिचर र बिक्रीपछिको सेवा ग्राहकको निर्णयमा महत्त्वपूर्ण बन्न थालेका छन् । त्यस्तै, चार्जिङ पूर्वाधार र स्पेयर पाट्र्सको उपलब्धताले पनि ब्रान्ड छनोटमा प्रभाव पार्नेछ ।
नयाँ मोडल थपिँदै जाँदा ग्राहकले एउटै मूल्य समूहमा रहेका विभिन्न ब्रान्डका सवारीसाधनलाई प्रत्यक्ष तुलना गर्ने अवसर पाउनेछन् । यसले कम्पनीहरूलाई मूल्यमा छुट दिनेमात्र नभई उत्पादनको प्रविधि, सुविधा र ग्राहक सेवामा समेत प्रतिस्पर्धा गर्न दबाब बढाउनेछ ।
एक्स्पोमा सवारीसाधनसँगै चार्जिङ कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य अटोमोबाइलसम्बन्धी व्यवसायको समेत सहभागिता रहेको छ । यसले ग्राहकलाई गाडी छनोटदेखि कर्जा, बिमा र चार्जिङ सुविधासम्मका विषयमा एउटै स्थानबाट जानकारी लिन सहज बनाउनेछ ।
चाडपर्वको मुख्य बिक्री सिजन सुरु हुनुअघि आयोजना भएको एक्स्पोलाई अटो व्यवसायीले बजारको माग बुझ्ने र ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने अवसरका रूपमा समेत लिएका छन्। दसैँ–तिहारमा नयाँ सवारीसाधन खरिद गर्ने परम्परा बलियो हुँदै गएकाले एक्स्पोपछि बजारमा बिक्री गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ ।
नाइमा एक्स्पोले यसपटक नेपाली अटो बजारमा ‘कुन प्रविधि र कुन मोडल रोज्ने ?’ भन्ने बहसलाई समेत थप बलियो बनाउने देखिएको छ । ईभीको बढ्दो आकर्षणबीच हाइब्रिड र इन्धन सवारीले कस्तो प्रतिस्पर्धा गर्छन् भन्ने विषय पनि एक्स्पोको मुख्य आकर्षण बन्नेछ ।











