काठमाडाैँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजनाको ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको कुल अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। यसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ प्रवर्द्धकहरूको स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।
एभरेष्ट बैंक मुख्य नेतृत्वकर्ता (लिड बैंक) रहेको सहवित्तीयकरण समूहमा सानिमा बैंक सह-अगुवा (को-लिड) रहेको छ। त्यस्तै, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंक को-लिड बैंकका रूपमा सहभागी छन् ।
सहभागी सदस्य बैंक तथा वित्तीय संस्थामा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
दैनिक ६ घण्टा पिकिङ क्षमता
तिला–२ अर्धजलाशययुक्त प्रकृतिको आयोजना हो । कालिकोटको तिलागुफा नगरपालिकामा आयोजनाको बाँध निर्माण हुनेछ भने खाँडाचक्र नगरपालिकामा विद्युत् गृह निर्माण गरिनेछ।
आयोजनाले सुख्खायाममा दैनिक ६ घण्टासम्म पिकिङ क्षमतामा विद्युत् उत्पादन गर्न सक्नेछ। आयोजनाबाट वार्षिक कुल २ हजार ३१८.७९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
यसअनुसार सुख्खायामको पिक समयमा ४५१.०५ गिगावाट घण्टा, अफ–पिक समयमा २०५.४५ गिगावाट घण्टा र वर्षायाममा १ हजार ६६२.२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
आयोजनाले २०७५ भदौ ७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरिसकेको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणसँग २०८१ कात्तिक ७ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याइएको छ । आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रीम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रबिन्स यूएसएलगायत विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन् ।
कर्णालीको जलविद्युत् सम्भावनालाई उपयोग गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट ठूलो परिमाणमा ऋण लगानी सुनिश्चित भएपछि आयोजनाको निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको कम्पनीले जनाएको छ ।











