काठमाडाैँ । कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । निजी क्षेत्रबाट अघि बढाइएको यो आयोजना हालसम्म निजी लगानीमा निर्माण हुन लागेकामध्ये सबैभन्दा ठूलो हो ।
एससी पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजनामा एनएमबी बैंकको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमार्फत ऋण लगानी गर्ने सम्झौता गरेका छन् । मंगलबार आयोजित समारोहमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र एससी पावर कम्पनीकी अध्यक्ष सुसन कर्माचार्यले ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
४४० मेगावाटको आयोजना, तत्काल २९८ मेगावाट निर्माण
तिला–१ को कुल जडित क्षमता ४४० मेगावाट भए पनि नेपाल विद्युत् प्राधिकरणसँग हाल २९८.७५ मेगावाटका लागि मात्रै विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । त्यसैले पहिलो चरणमा २९८ मेगावाट क्षमताका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिएको हो ।
२९८ मेगावाट निर्माणका लागि करिब ५९ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसमध्ये करिब १४ अर्ब रुपैयाँ प्रवर्द्धकहरूको स्वपुँजी हुनेछ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइनेछ । हाल बैंक तथा वित्तीय संस्थाले मात्रै ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी सुनिश्चित गरेका छन् ।
आयोजनाको बाँध, मुख्य सुरुङलगायतका महत्वपूर्ण संरचना भने सुरुदेखि नै ४४० मेगावाट क्षमताका लागि निर्माण गरिनेछ । बाँकी १४२ मेगावाटको विद्युत् उत्पादनका लागि आवश्यक इलेक्ट्रोमेकानिकल संरचना तथा अन्य प्रक्रिया पछि पूरा गरी आयोजना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने योजना छ ।
कसले कति लगानी गर्दैछन् ?
आयोजनामा एनएमबी बैंकले सबैभन्दा ठूलो १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । ग्लोबल आईएमई, प्रभु र हिमालयन बैंकले को–लिड बैंकका रूपमा समान ७/७ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
यसैगरी, नबिल बैंकले ३ अर्ब रुपैयाँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब रुपैयाँ, एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँ, आईसीएफसी फाइनान्सले ८० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छन् ।
आयोजनाको २९८ मेगावाट क्षमता निर्माण गर्न करिब ५९ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि पूर्ण ४४० मेगावाट क्षमतामा आयोजना निर्माण गर्दा कुल लागत करिब ७० अर्ब रुपैयाँ पुग्नेछ ।
आयोजनाको प्रवर्द्धन ऊर्जा उद्यमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) की उपाध्यक्षसमेत रहेकी सुसन कर्माचार्यको नेतृत्वमा अघि बढाइएको हो । विद्युत् विकास विभागले तिला–१ का लागि २०७५ भदौ ८ गते उत्पादन अनुमतिपत्र जारी गरेको थियो ।
लामो समयदेखि प्राविधिक, वित्तीय तथा बैंकहरूसँगको सम्झौता प्रक्रियामा रहेको आयोजनाले अब वित्तीय स्रोत सुनिश्चित भएसँगै निर्माणको गति बढाउने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार आयोजनाले विद्युत् उत्पादन सुरु गरेको पहिलो वर्षमै करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।
तिला काेरिडाेरमा ठूला आयोजना अघि बढ्दै
तिला–१ को वित्तीय व्यवस्थापन हुनुअघि एक दिन अगाडि मात्रै ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्पन्न भएको थियो । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित तिला–२ मा एभरेस्ट बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाले करिब ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।
तिला–२ को अनुमानित कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक करिब २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाटका लागि पिपिए भइसकेको छ ।
यसरी छोटो अवधिमै तिला नदी काेरिडोरमा ४४० मेगावाटको तिला–१ र ४२० मेगावाटको तिला–२ जस्ता ठूला आयोजना वित्तीय रूपमा अघि बढ्नु कर्णालीको जलविद्युत् विकासका लागि महत्वपूर्ण मानिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीपछि तिला–१ निजी क्षेत्रको लगानीमा अघि बढेको सबैभन्दा ठूलो आयोजनामध्ये एक बनेको छ । यसअघि टाइम्स इनर्जीले ३४१ मेगावाटको बूढीगण्डकी आंशिकजलाशययुक्त आयोजना तथा तमोर इनर्जीले २८५ मेगावाटको माथिल्लो तमोर आयोजना अघि बढाएका छन् ।
वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणलाई द्रुत गतिमा अघि बढाएर निर्धारित समयमै विद्युत् उत्पादन सुरु गर्ने प्रतिबद्धता प्रवद्र्धक कम्पनीकी अध्यक्ष कर्माचार्यले व्यक्त गरेकी छन् ।











