काठमाडाैँ । करिब ३० वर्षअघिदेखि मात्रै महिलाहरूको सशक्तिकरण शुरु भएको हो भन्दा अन्यथा नहोला । तर, पछिल्लो समय ऊर्जालाई प्रवर्द्धन र विकास अभियानमा जुटेर नारीहरूले उल्लेखनीय सहभागिता जनाएका छन् ।
एक समयमा छोरीलाई घाँस दाउरामा सीमति राख्ने, छोरालाई पढाउने र छोरी मेलापाखामा गएर बिरहका गीतमा रमाउने परिपाटीलाई छिचोलेर महिलाहरूले अहिले देशका उच्च ओहदाको नेतृत्वमा रहेर काम गरिरहेका छन् । ऊर्जा, बैंक, उद्योग, शिक्षा, स्वास्थ्य लगायतक्षेत्रका उच्च पदमा महिलाहरूको सहभागिता बढ्दै गएको देखिन्छ ।
नेपालको संविधानमा नै हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । तर, महिलाप्रतिको कमजोर दृष्टिकोण, काम गर्न सक्दैनन् भन्ने मनसाय, पारिवारीक साथ नपाउँदा महिलाहरू उच्च तहको नेतृत्वमा रहेर काम गर्न एक चुनौतिपूर्ण बनिरहेको बेला यसलाई पार गर्दै अघि बढ्ने परीपाटीको विकास हुँदै गएको छ । अधिकांश महिलाहरूले आफ्नो रुचीको क्षेत्र छनोट गरेर लगनशिलता, इमान्दारीताका साथ काम गरेपनि वैवाहिक सम्बन्धमा बाधिएपछि पारिवारीक समस्याका कारण बिच मै छोड्नुपर्ने अवस्थाको बिगबिगी पनि छ ।
अहिले उच्च तहमा रहेर नेतृत्व गरिरहेका अधिकांश महिलाहरू आत्मविश्वासीलो र पारिवारीक साथ पाएका महिलाहरू हुन् । पछिल्लो समय आफ्नो रुचीको क्षेत्रमा लागेका अधिकांश महिलाको प्रतिभालाई पारीवारीक साथ मिलेको पाइन्छ । जसले गर्दा अहिले महिलाहरू ऊर्जा प्रवर्द्धक, बैंकर, लगानीकर्ता, विद्यालय सञ्चालक, उद्योगी, राजनीतिज्ञको रूपमा प्रस्तुत भएका छन् ।
अहिले वाणिज्य बैंकहरूले पनि महिलालाई विशेष प्राथमिकतामा राखेर सञ्चालक समितिमा नियुक्त गर्ने अभ्यास बढाउँदै लगेका छन् । लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एनआईसी एसिया, एनएमबी, राष्ट्रिय वाणिज्य, कृषि विकास लगायतका बैंकको सञ्चालक समितिमा महिला छन् । ऊर्जा तर्फ पनि सरकारी निकाय तथा निजी कम्पनीमा महिलाहरूले उच्च तहको भूमिका सम्हालिरहेका छन् ।
ऊर्जा विकासमा याेगदान गरिरहेका केही महिलाहरूकाे उदाहरण स्वरुप ऊर्जा संचारले यहाँ प्रस्तुत गर्ने जमर्काे गरेकाे छ ।
ऊर्जा विकासमा होमिएका महिलाहरू:
शान्तिलक्ष्मी शाक्यः नेपाल विद्युत् प्राधिकरणबाट १२औं तहबाट अवकास भएकी उनलाई अधिकांशले ‘शान्ति दिदि’ भनेर चिन्ने गर्दछन् । उनले प्राधिकरणमा छैटौ तहबाट प्रशासनमा प्रवेश गरेर ३० वर्ष बढी काम गरिन् । प्राधिकरणको प्रशासन भन्ने वित्तिकै ‘शान्ति दिदि’ नाम अघि आउछ ।
सक्षम, लगनशिल र आत्मविश्वासी भएर काम गरे महिला भएकै कारण हेपिनु नपर्ने उनको बुझाई छ । कानूनमा स्नातक गरेकी शाक्यले सार्वजनिक प्रशासन, मानव विज्ञान र समाजशास्त्रमा स्नाकोत्तर गरेकी छिन् ।
प्राधिकरणकाे कुशल व्यवस्थापककाे रूपमा समेत चिनाउन सफल भएकी उनी हाल चिलिमे जलविद्युत् कम्पनी र चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) को कार्यसमिति सदस्य हुन् । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको पदपूर्ति उपसमितीको सदस्यको भुमिकामा पनि रहेकी छन् ।
जापानिज भाषाको प्रशिक्षक समेत रहेकी उनी अहिले जाइका अल्मुनी एशोसियन, नेपाल (जान) का महासचिवको नेतृत्व सम्हालिरहेकी छिन् । साथै, जापान इन्टरनेशनल ट्रेणी एण्ड स्कील्ड वर्कर कर्पोरेशन अर्गनाइजेशन (जीट्को) मा आवद्ध छिन् ।
उनले २ पटक जापान मै रहेर प्रशिक्षक सम्बन्धी तालिम समेत लिएकी थिइन् । कामप्रति विश्वास गर्ने उनी प्राधिकरणमा जिम्मेवारी बढ्दै गएपछि प्रशिक्षकको काम छोडेकी थिइन् । प्राधिकरणबाट अवकास पश्चात उनी जापानसँग सम्बन्धित अन्य संघ/सस्थामा व्यस्त छिन् ।
शाक्य प्राधिकरणको स्थापना भएपछि पहिलो विज्ञापनबाटै प्रशासनमा प्रवेश गरेकी थिइन् । छैंठौ तहमा ५ जनामध्ये महिला उनी मात्र थिइन् । बाँकी ४ जना पुरुष भएको कारणले विभिन्न शाखा कार्यालयको जिम्मेवारीमा खटाइएको र आफुँ महिला भएकै कारण निर्देशकको पर्सनल असिस्टेण्ड (पिए) मा नियुक्ती दिइएको महसुस गरेकी उनले पिए बाटै प्राधिकरणको विषयमा थप जान्ने मौका मिलेको उनको अनुभव छ । त्यहीबाट उनलाई दुई वर्षपछि कर्मचारी प्रशासन शाखामा पदस्थापना गरिएको थियो ।
कार्यक्षमता र कार्यसम्पादनमा विश्वास राख्ने उनी काम ठूलो सानो नहुने र आफुँलाई जिम्मेवारी तोकिएको काम लगनशिल, मिहिनेत र विश्वासका साथ गरियो भने माथिल्लो तहमा पुग्नलाई कसैले पनि रोक्न नसक्ने उनको बुझाइ छ ।
किरण गौतमः जल तथा ऊर्जा आयोग (वेक्स)को सचिवालयकी सिनियर डिभिजनल इन्जिनियर (सिडिई)को भूमिकामा रहेकी गौतमले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर र ऊर्जा योजना (माग र आपूर्ति) मा विद्यावारिधी गरेकी छन् । गौतमको ऊर्जा क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव छ । उनी एक दशकभन्दा बढी समयदेखि वेक्सको जिम्मेवारीमा छन् ।
रञ्जु पाण्डे: पाण्डे अहिले प्राधिकरणको निर्देशकको रूपमा कार्यरत छिन् । पुल्चोक इञ्जिनियरीङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरीङमा स्तानक गरेकी पाण्डले जर्मनीबाट वातावरण व्यवस्थापनमा स्नाकोत्तर गरेकी हुन् । हालै पाण्डेले मलेसियाबाट मान्यताप्राप्त एइयू विश्वविद्यालयबाट एमबीए समेत गरेकी छन् । ऊर्जा क्षेत्रमा १८ वर्ष बढी बिताइसकेकी उनीसँग प्राधिकरणको विभिन्न विभागमा काम गरेको अनुभव छ । जुन क्षेत्रमा पनि चुनौति हुने तर लगनशिलताका साथ काम गरियो भने सफल भइने उनकाे विश्वास छ ।
दिपा श्रेष्ठ: श्रेष्ठ इलेक्ट्रिकल इन्जिनियर हुन् । श्रेष्ठले पुल्चोक क्याम्पसबाटै इलेक्ट्रिकल इन्जिनियरीङमा स्नातक र पावर सिस्टममा स्नाकोत्तर गरेकी हुन् । उनी अहिले प्राधिकरणको उप-प्रबन्धकको रूपमा कार्यरत छिन् । साथै, काठमाडौँ उपत्यका प्रसारण प्रणाली विस्तार आयोजनाको प्याकेज ‘डि’ को प्रमुख समेत हुन् । उनले विराटनगरमा प्रसारण लाइन प्रमुखको रुपमा समेत काम गरिसकेकी छिन् ।
शुभलक्ष्मी श्रेष्ठः प्युठानमा जन्मेकी श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को उपनिर्देशक हुन् । उनले विगत १५ वर्षदेखि ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता’ काम गर्दै आएकी छन् । श्रेष्ठले ऊर्जा इन्जिनियरमा स्नाकोत्तर गरेकी छिन् । अहिले काठमाडौं विश्वविद्यायमा पिएचडी (विद्यावारीधी) तहको अध्ययन पनि गरिरहेकी छिन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको ऊर्जा दक्षता गोष्ठीमा सहभागिता जनाइरहने उनले ऊर्जा दक्षता सम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि सदैव प्रभावकारी अभ्यासहरू गरी चेतना जगाउनुपर्नेमा जोड दिइरहेकी छिन् ।
रेशा पियाः पिया ब्रिटिश दूतावास, काठमाडौँमा ऊर्जा सल्लाहकारको नेतृत्वमा छिन् । पुल्चोक इन्जिनियरीङ क्याम्पसबाट नवीकरणीय ऊर्जा विषयमा स्नाकोत्तर गरेकी उनले जर्मनीको फ्लेन्सबर्ग विश्वविद्यालयबाट छात्रवृत्तिमा ऊर्जा र वातावरण व्यवस्थापनमा स्नाकोत्तर गरेकी हुन् ।
उनले यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘सोलार इनर्जी सर्पोट’ कार्यक्रमको प्रोग्राम अफिसरको रूपमा काम गरेकी थिइन् । उनले जर्मनीबाट स्नाकोत्तर गरेर फर्किसकेपछि केन्द्र मै सरकारको तर्फबाट वरिष्ठ ऊर्जा अधिकृतको रुपमा जिम्मेवारी सम्हालिसकेकी छिन् । उनले प्राक्टिकल एक्सन साउथ एसिया रिजनल अफिस र ‘विनरोक इन्टरनेश्नल’मा पनि काम गरिसकेकी छिन् ।
ऊर्जा विकासमा महिलाको सहभागिता पुरुषको तुलनामा कम हुनुको कारण भनेको महिलाको आत्मविश्वास कम, परिवारबाट सर्पोट नपाउने र कुनै–कुनै कार्यालयमा महिलाप्रतिको हेर्ने दृष्टि मुख्य कारण रहेको बताउँछिन् । महिलालाई उच्च तहमा पुग्नका लागि महिलाप्रतिको व्यवहार, हेर्ने दृष्टि परिवर्तन र परिवार सर्पोटिभ भयो भने धेरै महिलाले उच्च पदको नेतृत्व बहन गर्न सक्ने उनको बुझाइ छ ।
वर्षा श्रेष्ठः सुनसरीको इनरुवामा जम्मेकि श्रेष्ठ अहिले इक्रा नेपाल लिमिटेडको ‘विजनेस हेड’ को भुमिकामा छिन् । नेपालको चिकित्सा, बैंक, ऊर्जा लगायतका क्षेत्रमा ४० वर्ष बढी बिताइसकेकी उनी ६ वर्षदेखि इक्रा नेपालमा आवद्ध छिन् ।
चिकित्साशास्त्र अध्ययन सस्थानबाट हेल्थ असिस्टेण्ट पास गरेकी उनलाई यो क्षेत्रमा रुची नहुँदा नहुँदै पनि प्रसुतीगृहमा एक वर्ष काम गरेकी थिइन् । त्यसपछि आफ्नो रुचीको क्षेत्रलाई प्राथकितामा राखेर नबिल बैंकमा ‘टेलर’ को रूपमा काम सुरु गरिन् । उनले बैंक क्षेत्रमा मात्रै करिब २५ वर्ष काम गरिन् ।
सन् २००८ देखि क्लिन इनर्जी डेभलपमेन्ट लिमिटेडमा निर्देशकदेखि उप–प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर काम गरिन् । २०१५ मा एनएमबी बैंकमा मर्ज भएपछि अब घरमै बस्ने भनेर जागिर छोडेर बसेकी उनले फेरि २०१८ मा इक्रा नेपाल अाबद्ध गरिन् ।
नेपाली समाजमा शैक्षिक योग्यताले मात्र उच्च तहमा पुर्याउछ भन्ने ठूलो भ्रम रहेको उनको बुझाइ छ । शैक्षिक योग्यता सँग–सँगै मिहिनेत सबभन्दा महत्वपूर्ण पक्ष हो । लगनशिलता, प्राथमिकताका साथ नम्र भएर रमाउँदै काम गरियो भने कुनै समस्या नहुने उनको अनुभव छ । महिलाहरूले आफुलाई रुची भएको क्षेत्र छनौट गरेर त्यसतर्फ लगनशिलताका साथ लागियो भने अवसरहरू प्रशस्त उपलब्ध हुने उनको बुझाइ छ ।
लिला अर्यालः अर्याल प्राधिकरणको इन्जिनियरीङ निर्देशनालयको उप–निर्देशकमा कार्यरत छिन् । उनले २०६३ सालमा सहायकको रूपमा सेवा प्रवेश गरेर २०६८ मै अधिकृतको जिम्मेवारी सम्हालेका थिइन् । १७ वर्षदेखि प्राधिकरणको विभिन्न शाखाको जिम्मेवारी सम्हालीसकेकी अर्यालले अर्थशास्त्र र सार्वजनिक प्रशासनमा स्नाकोत्तर गरेकी छिन् । पुरुषको तुलनामा महिलालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवसर कम प्राप्त हुने उनको बुझाई छ । ऊर्जा क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि महिला पुरुषलाई समान व्यवहार गर्ने, अवसर प्रदान गर्ने, प्रोत्साहन गर्ने, क्षमता विकासको तालिमको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
रञ्जना दाहालः दाहालको जन्म इलाम जिल्लामा भएको हो । उनी अहिले हिमाल दोलखा हाइड्रो पावर लिमिटेडको अध्यक्षको भूमिकामा छिन् । विगत लामो समयदेखि ऊर्जा क्षेत्रमा योगदान पुर्याउँदै आएकी दाहालसँग प्राविधिक ज्ञानसमेत भएकाले विशेषत उनी आयोजनास्थलमै भेटिन्छिन् । उनले व्यवस्थापनमा स्नातक गरेकी छिन् । खरो स्वभाव भएकी उनीसँग ऊर्जा क्षेत्रको २५ वर्ष बढीको अनुभव छ । आफु पनि काममा दत्तचित्त भएर लाग्ने र अरुलाई समेत सहि मार्गनिर्देश गर्छिन् । उनले जोशी हाइड्रो पावर, मुनलाइट लगायतका हाइड्रो पावरमा काम गरिसकेकी छिन् । हाल केभीएनआर इसुवा पावर लिमिटेडको सञ्चालक समितिमा समेत आबद्ध छिन् ।
उषा खतिवडाः एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी पूर्व प्रमुख कार्यकारी अधिकृत उषा खतिवडा हाल नेपालको उर्जा क्षेत्रमा केन्द्रित रहेको यूएसएआईडीको सहयोगमा सञ्चालित ऊर्जा परियोजनाको समूह प्रमुखको नेतृत्वमा छिन् । उनले व्यापार प्रशासनमा स्नाकेत्तर गरेकी छिन् । सिन्धुपाल्चोक जिल्लाको भोटेचौरमा जन्मिएकी उनी पिएचडी स्कलरसमेत हुन् ।
सन् २००० बाट व्यवसायिक यात्रामा होमिएकी उनीसँग सानिमा हाइड्रो पावर लिमिटेड र तमोर हाइड्रो पावर लिमिटेडको बोर्ड सदस्यकाे रूपमा काम गरेकाे अनुभव छ । सानिमा लाइफ इन्सुरेन्स, नेपलिज मार्केटिङ एशोसियनको सस्थापक सदस्य समेत रहेकी उनीसँग नेपालको विभिन्न क्षेत्रमा लामो समय देखिको कार्य अनुभव छ ।
त्यसैगरी देश विदेशका विभिन्न प्रतिष्ठित कार्यक्रममा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ । उनले नेपालसँगै अमेरिका, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, श्रीलंका, भियतनाम लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताका रूपमा भाग लिइसकेकी छन् । उनले महिलाहरूलाई प्रोत्साहित गर्दै विभिन्न क्षेत्रमा युवा र महिला सशक्तीकरणको लागि सक्रिय रूपमा वकालत गरीरहन्छिन् ।
उनी सन् २०२१ मा ‘५० लिडिङ लाइट्स अफ एसिया प्यासीफिक–काइन्डनेस एण्ड लिडरसिप’ र ‘इन्टरनेश्नल डाइभरसिटी रोल मोडल’ बाट सम्मानित भइसकेकी छिन् । साथै, २०२३ जुलाईमा ‘हाइड्रो भिजन अवार्ड’ बाट सम्मानित भइसकेकी छन् ।
अधिकांश कार्यालयमा निर्णयकर्ता (डिसिजन मेकिङ) मा पुरुष हुन्छन् । अनेक चुनौति पार गर्दै महिलाहरू ‘डिसिजन मेकिङ’ को स्थानमा पुगेपनि शंका गर्ने, विश्वास नगर्ने, ‘क्रस चेक’ गर्ने परिपाटी रहेको उनको बुझाई छ । परापूर्व प्राचिन कालदेखि नै पुरुषलाई अघि सार्ने र महिलालाई पछि पार्ने चलनको हाबी छ । यसलाई चीर्न आवश्यक रहेको उनको भनाई छ ।
यमकुमारी गुरुङः इन्जिनिरिङ विषयमा स्नातक गरेकी गुरुङ २०७३ सालमा प्राधिकरण पोखरा वितरण केन्द्रको सुपरभाइजरको भूमिकामा प्रवेश गरेकी थिइन् । करिब ७ वर्षदेखि यस क्षेत्रमा आवद्ध रहेकी उनी अहिले २२० केभी लेखनाथ–दमौली प्रसारण लाइन आयोजनामा इन्जिनियरको रूपमा ऊर्जा विकासमा योगदान पुर्याइरहेकी छन् । उनले प्राधिकरणको लमजुङ वितरण केन्द्रको प्रमुखका रूपमा ३ वर्ष काम गरिन् । उनी प्राधिकरणमा प्रवेश गर्नुअघि रसुवामा प्राविधिक (ओभरसेयर, सव–ओभरसेयर) शिक्षक समेत थिइन् । महिलालाई अवसर दिएमा र प्राथमिकतामा राखेमा जुनसुकै क्षेत्रमा पनि महिलाको सहभागिता बढाउन सकिने उनको बुझाइ छ । ‘नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । जसले गर्दा महिलाको सहभागिता न्यून छ, हामीले यसलाई परीवर्तन गरी अवसर प्रदान गर्ने, सुविधा दिन सकियो भने जस्तो सुकै जोखिममा पनि महिला अघि बढ्न सक्छ, समस्याको समाधान गर्न सक्छ’ उनले भनिन् ।
दुष्टि पाण्डेः काठमाडौँमा जम्मेकि पाण्डे २०७० सालदेखि प्राधिकरणको सेवामा प्रवेश गरी अहिले सहायक निर्देशक (८औ तह) मा कार्यरत छिन् । उनले १० वर्षको अवधिमा करिब आधा दर्जन कार्यालयको उच्च तहबाट नेतृत्व बहन गरिसकेकी छन् । ऊर्जा प्रणाली योजना र व्यवस्थापनमा स्नाकोत्तर गरेकी उनी अहिले महाराजगञ्ज वितरण केन्द्रको प्राविधिक प्रमुख हुन् । उनी किर्तीपुर वितरण केन्द्रको प्रमुख, रत्नपार्क, लेखनाथ वितरण केन्द्र, १०.५ मेगावाटको सुनकोसी जलविद्युत् केन्द्र र ग्रिड सञ्चालन विभागमा इन्जिनियरको रूपमा काम गरिसकेकी छिन् ।
सविना उप्रेती: इच्छाशक्तिमा विश्वास राख्ने उप्रेती अहिले पनौति जलविद्युत् केन्द्र प्रमुख छिन् । २०७१ माघमा प्राधिकरणको ग्राहक सेवा निर्देशनालयको ७औं तहमा इन्जिनियरको रूपमा सेवा प्रवेश गरेकी उनले इन्जिनियरिङ निर्देशनालयको तालिम केन्द्र लगायतका कार्यलयमा रहेर काम गरिन् । वैकल्पिक ऊर्जामा स्नाकोत्तर गरेकी उनले थापाथली क्याम्पसबाट इन्ड्रष्ट्रियल इन्जिनियरिङमा स्नातक गरिसकेकी छन् । उनले ओसीडेन्टल पब्लिक स्कुलबाट स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) पास गरेकी हुन् । महिलाको इच्छाशक्ति भए सबै क्षेत्रमा सहभागिता बढ्ने, समस्या र चुनौति आफै सुल्झिदैँ जाने, सुशासन र पारदर्शिता कायम हुने उनको विश्वास छ ।
सुसन कर्माचार्यः सुसन कर्माचार्य जलविद्युत् विकासमा होमिएकी कुशल प्रवर्द्धकमात्र होइनन्, हक्की स्वभावकी नेतृत्वकर्ता पनि हुन् । व्यवस्थापनमा स्नातक र शहरी तथा ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेकी उनी संखुवा खोलाबाट जलविद्युत् क्षेत्रमा प्रवेश गरेकी हुन् । उनकै नेतृत्व र व्यवस्थापनमा भोजपुरमा अलपत्र अवस्थामा रहेको ५ मेगावाटको पिखुवा खोलाबाट १८ महिनामा विद्युत् उत्पादन भयो । उनकै अगुवाईमा कास्कीमा २४ मेगावाटको माद्मे खोला निर्माणाधीन छ ।
जलविद्युत् विकासको क्रममा सबैभन्दा बढी समस्या स्थानीय क्षेत्रबाट आउने उनको बुझाइ छ । सिन्धुपाल्चोक जिल्लाको याम्लिङ खोलामा काम गर्दा सबैभन्दा बढी सास्ती व्यहोरेको उनको अनुभव छ । यस्ता चुनौती पार गर्दै आइरहेकी कर्माचार्य जुझारू महिला हुन् ।
नारी सहभागिता बढेमा सुशासन र पारदर्शिता आफै सुल्झिदैँ जाने उनको ठहर छ । सरकारले अघि सारेका नीति नियममा अंकुश नलागोस् भन्दै विभिन्न निकायका फोरममा सहभागिता जनाइरहन्छिन् र दबाब दिन सशक्तिकरणको भूमिका निभाइरहेकी उनी हाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को कार्यसमिति सदस्यको भूमिकामा छिन् ।
कविता पोखरेल कँडेलः नेपाल स्ट्याण्डर्ड चार्टड बैंकबाट अवकाश लिई ऊर्जा विकासमा लागेकी कविता कँडेल इप्पान नेपालको सचिव हुन् । आफूलाई व्यवस्थापनमा अब्बल महिलाका रुपमा उभ्याइएकी उनले थोप्पल खोलाबाट यस क्षेत्रमा पाइला चालेकी हुन् । उनका श्रीमान् विश्वनाथ कँडेलले अघि सारेका विभिन्न जलविद्युत् आयोजनाहरूलाई अहिले उनले नेतृत्व दिइरहेकी छन् । हिमशीला पावर कम्पनी, रूवी भ्याली जलविद्युत् र लिबर्टी इनर्जी लिमिटेड मेगावाटको निर्देशक रहेर ऊर्जा अभियानमा जुटिरहेकी छन् ।
सुमन जोशीः काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापन अध्ययन गरेकी जोशी बैंकिङ क्षेत्र हुँदै व्यवस्थापकीय नेतृत्वमा उभिएकी छिन् । जलविद्युतमा महिला विकासकर्ता तथा पूर्वाधार नामले चिनिएकी उनी ह्वाईट लोटस पावर लिमिटेडको प्रबन्ध निर्देशक छिन् । उनले जलविद्युत् आयोजनाहरूका लागि वित्तीय सहजकर्ताको भूमिका निभाइरहेकी छिन् । नेपाल कमर्सियल बैंकको कार्यकारी सञ्चालक रहेकी उनी रिडी खोला हाइड्रोमा आबद्ध छिन् । ऊर्जा विकासमा महिला सशक्तिकरणको आवाज उठाइरहेकी उनी इप्पानको कार्यकारी सदस्यको जिम्मेवारीमा छन् ।
इशा श्रेष्ठः इप्पानकाे कार्यसमिति सदस्यको भूमिकामा रहेकी इशा जलविद्युत् क्षेत्रमा उदाएकी महिला हुन् । महिला सशक्तिकरणमै जुझारू रूपमा लागिरहेकी उनले बैकिङ समानतामा ऊर्जालाई समेट्नुपर्ने आवाज उठाउँदै आएकी छन् ।
कला तिमल्सिनाः तिमल्सिना ऊर्जा र वातावरणको लागि महिला सञ्चाल (ओनी) का संस्थापक अध्यक्ष हुन् ।धादिङमा जन्मेकि उनले व्यवस्थापन र ग्रामिण विकासमा स्नाकोत्तर गरेकी छन् । ऊर्जा क्षेत्रमा महिलाको सहभागिता एकदम कम र अवसर पनि नपाउने बुझिएपछि महिला शसक्तिकरणका लागि ओनीको स्थापना गरेको उनको भनाई छ ।
ओनीले विद्युतीय उपकरण मर्मत सम्भार तथा सञ्चालनको तालिम दिँदै आइरहेको छ । देशमा विद्युत् उत्पादनको क्षमता व्यापक बढीरहँदा यसको खपतका लागि सरकारले विद्युतीय चुलो, सवारीको प्रयोग बढाउने नीति अबलम्बन गरेको छ । तर, विद्युतीय चुलोको मर्मत सम्भार गर्ने ठाउँ नहुँदा उपभोक्ता यस तर्फ जान सकेका छैनन् । सन् २०१६ मा स्थापना भएको ओनीले मर्मत संभारको तालिम दिँदै आएको छ ।
अभिज्ञा मल्लः युवा महिला प्रवर्द्धकको रुपमा मल्लले जलविद्युत् विकासमा आफ्नो पहिचान बनाउँदै गएकी छिन् । हाई हिमालय हाइड्रोको उपाध्यक्ष समेत रहेर उनले वित्त नियन्त्रकको भूमिका निर्वाह गरिरहेकी छन् । युनियन हाइड्राे पावरकाे कार्यकारी निर्देशक रहुनका साथै होङ्ग जलविद्युत् र युनियन मेवा हाइड्रो लिमिटेडको निर्देशकको जिम्मेवारी पनि निर्वाह गरिरहेकी छन् । अष्ट्रेलियाबाट व्यवस्थापन र एकाउन्टिङमा स्नातकोत्तर गरेकी उनले इप्पान कार्यसमिति सदस्यमा रहिन । विदेशमा उच्च शिक्षा लिइरहेका युवाहरू स्वदेश फर्केर आ–आफ्नो क्षेत्रमा योगदान पुर्याउनुपर्ने उनको धारणा छ । उनले अष्ट्रेलियाको जागिर छोडेर स्वदेशमै आफ्नो दक्षता प्रदर्शन गर्न दत्तचित्त छन् ।