काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपालमा अब जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइने बताएका छन् । दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण तथा आर्थिक रूपान्तरणका लागि यस्ता आयोजना अपरिहार्य रहेको उनले बताएका हुन् ।
आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले जलाशययुक्त आयोजना केवल विद्युत् उत्पादनको माध्यम मात्र नभई बाढी नियन्त्रण, सिँचाइ विस्तार, पानी व्यवस्थापन, पर्यटन प्रवर्द्धन तथा ऊर्जा आपूर्तिमा सन्तुलन कायम गर्ने आधारसमेत भएको उल्लेख गरे ।
कुलेखानीका तीनवटै जलविद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण अनियमित वर्षा, हिमनदी पग्लिने र प्राकृतिक जोखिम बढ्दै गएको भन्दै भविष्यका लागि पानी भण्डारण संरचनाको महत्व अझ बढेको बताए । नयाँ जलाशययुक्त आयोजना अघि बढाउँदा ध्यान दिनुपर्ने विषयबारे जानकारी लिन पनि कुलेखानी भ्रमण गरिएको उनको भनाइ थियो ।
उनले उच्च विद्युत् माग हुने ‘पीक आवर’ मा जलाशययुक्त आयोजनाबाट थप विद्युत् उत्पादन गर्न सकिने भएकाले उद्योग, व्यापार, डाटा सेन्टर, सूचना प्रविधि उद्योग तथा सहरी क्षेत्रमा दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न यस्ता आयोजना उपयोगी हुने बताए । यसले समग्र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनको धारणा थियो ।
मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई बहुउद्देश्यीय उपयोगलाई केन्द्रमा राखेर जलाशययुक्त आयोजनाको एकीकृत विकास मोडल तयार गर्न सुझाव दिए । नेपाली जनशक्ति अहिले यस्ता आयोजनाको निर्माण र सञ्चालनमा सक्षम भइसकेको उल्लेख गर्दै उनले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।
सरकारले निजी क्षेत्रको आकर्षण बढाउन जलाशययुक्त आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गरेको उल्लेख गर्दै उनले यस्ता आयोजनाबाट बहुआयामिक लाभ लिन सकिने बताए ।
कुलेखानी आयोजनालाई नेपालको ‘रोल मोडल’ परियोजनाका रूपमा व्याख्या गर्दै मन्त्री श्रेष्ठले यसले आर्थिक तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले स्थानीयस्तरका गुनासा तत्काल सम्बोधन गर्न तथा जलाधार क्षेत्रको सीमांकन, फोहोर व्यवस्थापन र आयोजनाको सम्पत्ति संरक्षणमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको इन्द्रसरोवर सहितको कुलेखानी आयोजना नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो । सन् १९८२ मा निर्माण सम्पन्न भएको आयोजनाको कुल जडित क्षमता १०६ मेगावाट रहेको छ । आयोजनाअन्तर्गत कुलेखानी–१ बाट ६० मेगावाट, कुलेखानी–२ बाट ३२ मेगावाट र कुलेखानी–३ बाट १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
सुक्खा याम तथा उच्च विद्युत् मागको समयमा राष्ट्रिय विद्युत् प्रणालीलाई सन्तुलित राख्न कुलेखानी आयोजना नेपालको ऊर्जा क्षेत्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भएको छ ।








