काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बरुण नदीको संरक्षण गर्न वरुण तिर्थस्थल बचाव तथा पर्यटन व्यवस्थापन समिति गठन भएको छ । वरुण नदीमा विद्युत् आयोजना निर्माण गर्ने लगायत अन्य मेसिनहरूको उपयोग हुन थालेपछि यसको सरक्षण र व्यवस्थापन गर्न समिति गठन भएको हो ।
नदीमा जलविद्युत् उत्पादन तथा मेसिनहरूको प्रयोगमा रोक लगाउन तथा पर्यटन व्यवस्थापन गर्न स्थानीय छेरुक मुनाङ भोटेको अध्यक्षमा समिति गठन भएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तथा स्थानीयवासीको ठूलो आस्थाको केन्द्र रहेको यस नदीमा एम्पिक इनर्जी प्रालिले १३२ मेगावाटको तल्लो बरुणको निर्माण प्रक्रिया अघि बढाएपछि नदीको महत्व गुम्ने खतरा बढेको छ ।
मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको छ । पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भविष्यमा अस्तित्व हराउने भएकोले यसको संरक्षण गर्न समिति गठन गरिएको भोटेले बताए । नदीमा जलविद्युत् मात्र नभएर कुनै पनि व्यक्ति वा संघ संस्थाले प्रयोग नै गर्न नमिल्ने तथा प्रयोग नै गर्न नदिने स्थानीयबासी बताउँछन् ।
विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको स्थानीयको भनाई छ ।
ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उनको भनाइ थियो । बरुण नदीले ऐतिहासिक, धार्मिक एवं मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।
हाल गठित समितिले सरकार तथा निकायसँग समन्वय गरेर मकालु बेसक्याम्पसम्मको पदमार्ग, जिवजस्तु, चराचुरुङ्गीहरूको समेत संरक्षण गर्ने कार्य गर्दछ । यसका लागि सम्बन्धित विज्ञहरूसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको भोटेले जानकारी दिए ।
तल्लो बरुण जलविद्युत् आयोजना
विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गरिसकेको छ । कम्पनीले पनि आयोजनाको काम निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजना निर्माण सम्पन्न गर्न २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादीत विद्युत् २२० केभी प्रसारण लाइनमार्फत १.७३ किलोमिटर दुरीमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।