Monday, May 25, 2026
spot_img

इवा खोलामा बाढीको वितण्डा, पानीको बहाव घटे १० दिनभित्र पुनः सञ्चालनमा आउने

spot_img

Share

spot_img

काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलामा निर्माण भएको ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजनामा बाढीपहिरोले ठुलो क्षति पुर्याएको छ । गत शुक्रबार (जेठ ८ गते) राति आएको भीषण वर्षासँगैको बाढीपहिरोका कारण आयोजनाबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

विगत २०७६ सालदेखि नियमित रूपमा विद्युत उत्पादन गर्दै आएको यो आयोजना बाढीका कारण क्षतविक्षत बनेपछि पुनः सञ्चालनमा आउन अझै हप्ता–१० दिन लाग्ने अनुमान गरिएको रिडी पावर कम्पनी लिमिटेडका इलेक्ट्रिक इन्जिनियर विकास गौतमले बताए । खोला ठाडो (भिरालो) भएका कारण यो कोरिडोरमा रहेका अन्य आयोजनाहरूलाई समेत बाढीले असर पुर्याएको छ ।

संरचनामा क्षति, मर्मतमा चुनौती

बाढीले बगाएर ल्याएका दाउरा र ढुङ्गामाटोका कारण आयोजनाका सबै गेटहरू टालिएका छन् भने डिस्यान्डर (बालुवा थिग्र्याउने पोखरी) क्षेत्रमा पनि ठुलो क्षति पुगेको छ । बाढीले पहुँच मार्ग (सडक बाटो) समेत बगाएको छ । यसका साथै पेनस्टक पाइपका केही एंकर ब्लकहरूमा पनि क्षति पुगेको देखिएको गौतमले बताए ।

खोलामा पानीको बहाव अझै नघटेका कारण तत्काल मर्मत सम्भारको काम सुरु गर्न कठिनाइ भइरहेको छ । मौसम प्रतिकूल रहेकाले थप वर्षा भएमा बहाव अझै बढेर आयोजना सञ्चालन हुन थप समय लाग्न सक्ने जोखिम छ । केही क्षेत्रहरू अझै पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

मुख्य संरचना सुरक्षित, दुई वर्षअघिको भन्दा कम क्षति

विगतको तुलनामा यो पटक क्षति केही कम भएको प्राविधिकहरूको भनाइ छ । दुई वर्षअघि आएको भीषण बाढीपहिरोले क्षति पुर्याउँदा यस आयोजनाको उत्पादन झण्डै एक वर्षसम्म ठप्प भएको थियो । जसका कारण कम्पनीले ७६ करोड रुपैयाँ नोक्सान बेर्होनु परेको थियो । त्यसको तुलनामा यसपालिको क्षति भने निकै कम हो ।

इलेक्ट्रिकल इन्जिनियर गौतमका अनुसार बाढीले आयोजनाको मुख्य संरचना मा भने खासै क्षति पुर्याएको देखिँदैन । इन्जिनियर गौतमले भने, ‘अहिले मेसिन चलाउन सम्भव छैन । खोलाको बहाव उच्च भएकाले तत्काल मर्मत सुरु गर्न गाह्रो छ । तर, हामी विस्तृत निरीक्षण गर्दैछौँ, त्यसपछि मात्र वास्तविक अवस्था प्रष्ट हुनेछ । आयोजनाको सम्पूर्ण संरचनाको प्राविधिक जाँच र मर्मत सम्भार गरिसकेपछि मात्र यसलाई पुनः सञ्चालनमा ल्याइनेछ ।’

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img