काठमाडाैँ । दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशिल ऊर्जा विद् कुशल गुरुङ नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा चयन भएका छन् । शुक्रबार रिकोनको सम्पन्न ७औं साधारणसभाबाट गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
सर्वसम्मतिबाट चुनिएको नयाँ कार्यसमितिका उपाध्यक्षमा केशवराज खनाल, महासचिवमा ऋषवराज आचार्य, कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली र सचिवमा तेजनारायण ठाकुर रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा यबबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश लामिछाने रहेका छन् ।
गुरुङ झण्डै दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशिल रहेर यस क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । गुरुङ वीण्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत र गण्डकी ऊर्जा प्रालिका सञ्चालक समेत हुन् ।
नवनियुक्त अध्यक्ष गुरुङले स्वच्छ उर्जाको लागि नविकरणीय उर्जाको प्रवर्द्धन अनिवार्य भएको वताए । कार्वन उत्सर्जन कम गर्नका लागि पनि नविकरणीय उर्जाको उपयोग बढाउनुपर्ने बताउदै अध्यक्ष गुरुङले सरोकारवाला सबैसँग सहकार्य र समन्वय गर्ने बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जाको क्षेत्र फराकिलो भएको उल्लेख गर्दै यसका लागि स्वार्थलाई त्यागेर खट्न र जुट्न पर्ने आवश्यकता रहेका बताए ।
२०७४ आश्विन २३ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट विधिवत दर्ता गरिएको रिकोन नेपालमा कार्यरत नवीकरणीय उर्जा क्षेत्रका सम्पूर्ण छाता संगठनहरूको प्रतिनिधिमूलक संस्था हो । यस संस्थाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जाका विभिन्न स्रोतहरूको विकास, विस्तार र प्रवद्र्धन गर्नुको साथै नेपाल सरकार र आवद्ध संघ संस्था मार्फत सेवाग्राही बीच पुलको रूपमा भूमिका निर्वाह गरी यस क्षेत्रको नीति, कार्यनीति, र रणनीति निर्माणका लागि सरकारका सम्बद्ध निकायहरूमा सुझाव, सहयोग, लबिङ, र वकालत गर्नु रहेको छ ।
यस संस्थामा नवीकरणीय ऊर्जा क्षेत्रका दर्जनौं संघ संस्था जस्तै नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संस्था, नेपाल सौर्य तापीय संघ, नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि उत्पादक संघ, जैविक उर्जा उत्पादक संघ, नेपाल लघु जलविद्युत उपभोक्ता संघ, बायोग्यास सेक्टर साझेदारी नेपाल, स्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्र साथै सयौं नविकरणीय उर्जा प्रविधि विज्ञ व्यक्तित्वहरु र व्यवसायीहरु सदस्यको रुपमा आवद्ध रहेका छन् । परिसंघमा आवद्ध संगठनहरुमा
५०० भन्दा बढी फर्महरु/कम्पनीहरू सदस्यको रुपमा रहेका छन् भने संघ संस्थाका शाखाहरूको संख्या झन्डै २००० रहेका छन् । यसरी समग्रमा ५० हजार भन्दा बढी जनशक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नवीकरणीय ऊर्जा क्षेत्रमा रोजगारी प्राप्त गरिरहेका छन् । यसको वास्तविकता र यथार्थताको पृष्ठभूमिमा यस परिसंघको ‘नेटवर्क’ मुलुकभरि नै रहेको छ ।