काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागका महानिर्देशकको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको निर्णयअनुसार विद्युत् विकास विभागको महानिर्देशकमा सहसचिव सागरराज गौतम र सिँचाइ विभागको महानिर्देशकमा डा. महेश्वर श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय भएको हो ।
मन्त्रालय स्रोतका अनुसार गौतम यसअघि विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा कार्यरत थिए भने डा. श्रेष्ठ कार्यक्रम, बजेट तथा अनुगमन महाशाखामा कार्यरत थिए । यससँगै विद्युत् विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठ, उपमहानिर्देशक गाेकर्णराज पन्थ र सहसचिव सुनिल पाैडेललाई मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ ।











